कहिले होला एनआरएनए निर्वाचन ?

काठमाडौं – गैर आवासीय नेपाली संघभित्रको विवाद मिल्न नसक्दा महाधिवेशन र निर्वाचन अनिश्चित बन्दै गएको छ । संघभित्रको प्रतिनिधि विवाद मिल्न नसक्दा अक्टोवरमै हुनु पर्ने निर्वाचन अनिश्चित बन्दै गएको हो । निर्वाचन अनिश्चित बन्दै गएपछि गैर आवासीय नेपालीभित्र नैराश्यता छाउँन थालेको छ ।

यो पटक अक्टोवरको लागि भन्दै ६ महिना अघि देखि चुनावको तयारीमा जुटेका उम्मेदवारहरु वाक्क दिक्क छन् । प्यानलमा नाम सार्वजनीक भएका उम्मेदवारहरु पनि एनआरएनको घट्दो साख र निर्वाचन हुने नहुने भन्ने अन्यौलताका कारण चुनावी अभियानबाट टाढिन थालेका छन् । आफ्नो ब्यापार ब्यवसायलाई छाड्दै चुनावी मैदानमा उत्रीएका उनीहरु लामो समयदेखि निर्वाचनको तयारीमा जुट्दा पनि निर्वाचन हुन नसकेपछि चुनावी मैदान छाड्न थालेका हुन ।

एनआरएनएमा पटक पटक निर्वाचन मिति घोषणा भएर निर्वाचन स्थगीत हुँदै आइरहेको छ । लामो समय गुज्रदा प्रवासमा रहेर पनि ब्यवसायीक पृष्ठभूमी नभएका कतिपय उम्मेदवारहरु चुनावी प्रचार अभियान थेग्न नसकेको गुनासो गर्छन । अनलाईन मतदान हुने भए पनि धेरैले प्रचार प्रसारमा लामो समयदेखिको खर्च धान्न धौ धौ भइरहेको गुनासो गरेका हुन ।

त्यस्तै, संघको आज आइतवार र सोमवार गर्ने भनिएको निर्वाचन पनि रोकिएको छ । एनआरएनएको निर्वाचन समितिले शनिवार एक विज्ञप्ति जारी गर्दै हालसम्म पनि मतदाता सुची प्राप्त नभएकाले निर्वाचन मिति सहितका सबै कार्यतालिका स्थगन गरेको जनाएको हो ।

‘गैर आवासीय नेपाली संघको निर्वाचनका लागि उपलब्ध हुनुपर्ने मतदाता सुची पूर्ण रुपमा प्राप्त नभईसकेकाले छानबिन प्रक्रिया प्रभावित भई यस अघि प्रकाशित गरिएका कार्यतालिका स्थगन गरिएकोमा हालसम्म पनि मतदाता सुची प्राप्त नभएकाले निर्वाचन मिति सहितका सबै कार्य तालिका पछि प्रकाशित गरिने व्यहोरा अनुरोध छ’, विज्ञप्तिमा भनीएको छ ।

संघभित्र प्रतिनिधि छनौट लगायतका विवाद मिलाउन अध्यक्ष कुमार पन्तले संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डित, डा यादव पण्डित, एनआरएनए सचिव गौरी राज जोशी र संघका प्रवक्ता डिबी क्षेत्री रहेको चार सदस्यीय समिति गठन गर्नु भएको थियो । तर सो समितिले अझैसम्म विवाद मिलाउन सकेको छैन ।

कुल आचार्य पक्षधरबाट पण्डितद्धय र संस्थाको तर्फबाट जोशी र क्षेत्रीलाई समितिमा राखेर विवाद मिलाउने प्रयास भएको थियो । तर समितिमा आचार्य पक्षधरको तर्फबाट प्रतिनिधि छनौटमा अनीयमितता देखिएका दुई दर्जन बढी देशको विवाद सुल्झाएपछि मात्र निर्वाचनमा जाने प्रस्ताव आएपछि संस्थापन पक्ष झस्कीएको छ । संस्थापन पक्षले २५ प्रतिशत विवाद भएका ठूला देशबाट आपसी समझदारीको आधारमा सहमति गर्न सकिन्छ भन्ने उद्देश्यले समिति गठन गरेकोमा त्यो नहुँदा निर्वाचन अनिश्चित बन्दै गएको देखिन्छ ।

संस्थापन पक्ष आचार्य समूहले राखेको प्रस्ताव कुनै पनि हालतमा मान्न नसकिने बरु उनीहरु चुनावमा नआए पनि निर्वाचनमा जानुपर्ने निस्कर्षमा पुगेको देखिन्छ । तर अध्यक्ष पन्त भने सकभर संस्थालाई विभाजनबाट जोगाउनुपर्ने र ढिलै भए पनि सबैलाई मिलाएर जानुपर्ने पक्षमा उभीनु भएको छ । तर वर्तमान कार्यसमितिले पाएको ६ महिनाको अवधि घर्कन लागिसकेको छ । यो अवस्थामा निर्वाचन गर्न नसकिए अर्को संयन्त्रमार्फत निर्वाचन गर्नुपर्ने हुन्छ । त्यो अवस्था नआउँदै अध्यक्ष पन्त निर्वाचन गर्न तयार भए पनि संस्था विभाजन हुने हो कि भनेर संस्थापन पक्ष निर्वाचनमा जान डराइरहेको देखिन्छ । यही अवस्था रहीरहे सन् २०२१-२०२३ कार्यकाल यतिकै विवादमा बित्ने पनि सम्भावना बढदै गएको देखिन्छ भने यसबीचमा विधान संशोधनको लागि विशेष साधारण सभा बोलाएर अहिलेको समाधान खोज्न सकिने तर्कहरु पनि आइरहेका छन् । त्यसैले एनआरएनएको निर्वाचन कहिले हुने हो भन्ने कसैले पनि भन्न सक्ने अवस्था देखिन्न ।


प्रकाशित | ११ पुष २०७८, आईतवार १४:३९