खेलाडीमाथिको कारबाही फिर्ता लिन क्यानका ६ जना बोर्ड सदस्यको माग

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) का ६ जना केन्द्रीय सदस्यहरुले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका छन् ।

क्यानका केन्द्रीय सदस्यहरु छुम्बी लामा, ऋषिराम गौतम,अमितबीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र संजय राज सिंहले बुधबार पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर २९ गते अनुशासनको कारण देखाउदै कप्तान मल्ललाई कप्तान र दिपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो ।

यस्तै मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो ।  पत्रकार सम्मेलनमा बोल्दै क्यानका केन्द्रीय सदस्य लामाले खेलाडीमाथि नियोजित तरिकाले कारबाही भएको बताए।

क्यान आईसीसीबाट निलम्बनमा परेको समय आफ्नै मेहेनतबाट खेलाडीलाई नेपाललाई एकदिवसीय अन्तराष्ट्रियको मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेल्ने खेलाडीमाथि कारबाही गरेको भन्दै उनीहरुले कारबाहीको भर्त्सना गरे ।

यस्तै उनीहरुले क्यान विधान अनुसार नचलेको आरोप लगाए ।  कार्यसमिति बैठकमा एजेण्डा वितरण नगरी आफुखुशी प्रस्ताबहरु ल्याएर छलफल गर्ने, आफूअनुकुल निर्णय गर्ने, त्यस्ता निर्णयहरु केन्द्रीय सदस्यले नै प्रेस विज्ञप्तिबाट थाहा पाउनुपर्ने अवस्था रहेको उनीहरुको आरोप छ ।


प्रकाशित | ७ पुष २०७८, बुधबार १९:३९