कांग्रेस प्रदेश २ को अधिवेशनमा कुटाकुट

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ को निर्वाचनका क्रममा कुटाकुट भएको छ । प्रदेश निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्न ढिलो गरेपछि सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादवबीच झडप भएको हो ।

रामसरोज बिहीबार चुनाव गर्नुपर्ने पक्षमा रहनुभएको छ भने कृष्ण आजै निर्वाचन गर्ने पक्षमा रहनुभएको छ ।

झडपका क्रममा कुर्सीसमेत तोडफोड भएको छ । रामसरोज पक्षले गृहमन्त्री र कृष्ण यादव पक्षले रामसरोज यादव विरुद्ध नाराबाजी गरेका हुन् । रामसरोज प्रदेश २ को भौतिक पूर्वाधार विकास हुनुहुन्छ । निर्वाचन समितिले चुनावका लागि मतपत्र भने छपाएर ल्याइसकेको छ ।

विवादकै कारण अन्य प्रदेशमा अधिवेशन सम्पन्न भए पनि यस प्रदेशमा हुन सकेको छैन । प्रदेश २ मा विभिन्न ७२ सिटका लागि १७४ जना उम्मेद्वार छन् । यसअघि, नेपाली कांग्रेस प्रदेश–२ समितिको जारी अधिवेशनमा पाँच जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

खुल्लातर्फ सप्तरीका आशाराम चौधरी, महिलातर्फ सप्तरीकै विमला देवी साह र महोत्तरीकी उषा देवकोटा निर्विरोध निर्वाचित भएका हुनु । यस्तै, मधेसी महिलातर्फ पर्साकी किरण कुमारी र आदिवासी जनजातिमा मनमया तमाङनी निर्विरोध निर्वाचित भएका छन् ।


प्रकाशित | ७ पुष २०७८, बुधबार १८:२१