कांग्रेस निर्वाचन: ९७ पदको नतिजा आउँदा देउवा प्यानलका ७७ जना विजयी

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा हालसम्म पदाधिकारीसहित ९७ जनाको परिणाम सार्वजनिक भएको छ । १ सय ३४ पदका लागि भएको निर्वाचनमा ९७ जनाको परिणाम आएको हो । हालसम्मको परिणाममा सभापति शेरबहादुर देउवा पक्षले ८० प्रतिशत पदमा जित हासिल गरिसकेको छ ।

पदाधिकारीतर्फ सभापति देउवा समूहले १ उपसभापति र ६ सहमहामन्त्री जितेको छ । डा. शेखर कोइराला पक्षले उपसभापति १, महामन्त्री १ र २ सहमहामन्त्री जितेको छ । प्रकाशमान सिंह नेतृत्वको प्यानलबाट महामन्त्रीमा १ जना विजयी भएका छन् ।

केन्द्रीय सदस्यतर्फ डा.शशांक कोइराला, राजेन्द्रकुमार केसी र मुक्ताकुमारी यादव साझा प्यानलमा पर्नु भएकोमा तीनजनाबाहेक परिणाम आएका ९७ मध्ये ७७ जना देउवा प्यानलका विजयी भएका छन् । त्यस्तै शेखर पक्षबाट उम्मेदवार बनेका १७ जना केन्द्रीय समितिको पदाधिकारी र सदस्यमा निर्वाचित भएका छन् ।

 


प्रकाशित | ७ पुष २०७८, बुधबार १४:५०