३५ वर्षीय विद्यार्थी नेता चिलीको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी – बामपन्थी उम्मेदवार ग्याब्रियल बोरिक चिलीको राष्ट्रपति पदमा निर्वाचित भएका छन् । उनले प्रजातान्त्रिक समूहका उम्मेदवार जोसे एन्टोनियो कास्टलाई पराजित गरेका हुन् । चिलीको राष्ट्रपति निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छैन । तर ९८ प्रतिशत मत गणनामा बोरिकको पक्षमा ५६ प्रतिशत र कास्टको पक्षमा ४४ प्रतिशत मत प्राप्त भएपछि विजय निश्चित भएको हो ।

यो निर्वाचनमा दशककै सबैभन्दा ठूलो ध्रुवीकरण देखिएको छ । ठूलो संख्यामा सरकारविरोधी प्रदर्शनपछि चिलीमा यो परिवर्तन सम्भव भएको हो । दुवै उम्मेदवारले देशका लागि फरक फरक दृष्टिकोण पेश गरेका थिए । उनीहरु दुवैसँग सरकार र सत्ता सन्चालनको अनुभव भने थिएन ।

३५ वर्षको उमेरमा राष्ट्रपति निर्वाचित भएका बोरिक विश्वकै कान्छा नेतामध्ये एक हुन् । उनी चिलीको इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति बन्दैछन् ।

निवर्तमान राष्ट्रपति सेवास्टियन पिनेराले फोनमार्फत बोरिकलाई बधाइ दिएका छन् । टेलिभिजनाबाट प्रशारण गरिएको फोन सम्पर्कमा बोरिकले भनेका छन्, ‘यो कठिन चुनौतिलाई पार लगाउनका लागि म आफ्नो पूरा प्रयास गर्नेछु ।’

पूर्व विद्यार्थी नेता बोरिकले असमानता र भ्रष्टाचारको विरुद्धमा सरकारविरोधी जनप्रदर्शनको नेतृत्व गरेका थिए । जसले सन् २०१९ र २०२० मा विश्वभरको सन्चारमाध्यममा स्थान पाएको थियो ।

दक्षिण अमेरिकाको सबैभन्दा स्थिर अर्थव्यवस्था भएको चिलीमा वर्गअन्तर भने विश्वमै सबैभन्दा धेरै छ । चिलीका १ प्रतिशत नागरिकले देशको २५ प्रतिशत सम्पत्तीमा अधिकार राख्ने संयुक्त राष्ट्रसंघको तथ्यांक छ ।

बोरिकले असमानता हटाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पेन्सनको व्यवस्था, स्वास्थ्य प्रणालीमा सुधार र साताको ४० देखि ४५ घण्टासम्मको कार्यअवधि बनाउने बताएका छन् ।


प्रकाशित | ५ पुष २०७८, सोमबार १०:१७