हुम्लामा अज्ञात रोगका कारण थप एकको मृत्यु, ज्यान गुमाउनेको संख्या १० पुग्यो, २ सय बढी विरामी

हुम्ला: हुम्लाको ताँजाकोट गाउँपालिकामा फैलिएको अज्ञात रोगका कारण आज थप एक जनाको मृत्यु भएको छ । ताँजाकोट गाउँपालिका वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पबित्रा बोहोराको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिनुभयो । गएको दुई हप्तादेखि स्थानीयमा छाति दुख्ने, ज्वरो आउने र त्यसको केही दिनमा ज्यान जाने गरेको हो । उहाँका अनुसार ज्यान जानेमा बालबालिका र वृद्धवृद्धा रहेका पाइएको छ । ताजाकोटको वडा नम्बर १, २ र ८ नम्बर वडामा यस्तो समस्या देखिएको उहाँको भनाइ छ ।

यो सँगै मृत्यु हुनेको संख्या १० पुगेको छ। यो रोगका कारण २ सय भन्दा बढी विरामी परेका छन्। यस अघि मृत्यु हुनेमा ताँजकोट १ का ७० वर्षका कुशुमा रिठाल, ६० वर्षका सुरजित खड्का र ५५ बर्षका वीरदल रिठाल छन्। ५५ बर्से रंगे कोली र पाँच वर्षका सुनकेस्रा सुनार, वडा नं ३ का ७० वर्षका अम्मकली मल्ल, ७५ वर्षका बज्जिरे सुनार, ५५ वर्षका लक्ष्य सुनार, १० महिनाका बालक सञ्जिव थापा रहेका छन।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार १६:००