कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं –  नेपाली कांग्रेसको १४ औं महाधिवेशनले शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गरेको छ । पाँचौ पटक मुलुकको प्रधानमन्त्री बन्नु भएका देउवा दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित हुनु भएको हो ।

दोस्रो चरणमा देउवा २ हजार ७ सय ३३ मत ल्याएर निर्वाचित हुनु भएको हो । कुल ४ हजार ६ सय २३ मत खसेकामा प्रतिस्पर्धी डा. शेखर कोइरालाले १ हजार ८ सय ५५ मत पाउनु भयो । ३५ मत बदर भयो ।

कांग्रेसमा सभापतिका लागि देउवा र कोइरालासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा हुनुुहुन्थ्यो । तर, पहिलो चरणको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि देउवा र कोइरालाबीच मंगलबार दोस्रो चरणको मतदान भएको थियो ।

पहिलो चरणको निर्वाचनमा देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गर्नु भएको थियो । पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।

महाधिवेशनमा देशभरका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिहरू सहभागी भएका थिए ।


प्रकाशित | २९ मंसिर २०७८, बुधबार ०२:१७