कांग्रेसको निर्वाचन कार्यक्रम सार्वजनिक, मंसिर २७ गते मतदान

काठमाडौं–  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । कार्यतालिका अनुसार महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन मंसिर २४ गते बिहान १० बजे हुनेछ भने उम्मेदवारको मनोनयन दर्ता मंसिर २५ गते बिहान १० देखि ५ बजेसम्म हुनेछ ।

यस्तै दावी विरोधको समय मंसिर २५ गते बेलुका ७ देखि ९ बजेसम्म राखिएको छ भने उम्मेदवारको पहिलो नामावली प्रकाशनको समय मंसिर २५ गते राति ९ देखि १२ बजेसम्म तोकिएको छ । यस्तै मनोनयनपत्र फिर्ताका लागि मंसिर २६ गते बिहान ११ बजेसम्मको समय दिइएको समितिले जनाएको छ ।

त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर मंसिर २७ गते बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको छ । निर्वाचन सम्पन्न भएपछि पहिले सभापति पदको मतगणना हुनेछ । निर्वाचनसम्बन्धी सबै कार्यक्रम राष्ट्रिय सभा गृहमा हुनेछ ।

यस्तै सभापतिको लागि दोस्रो चरणको निर्वाचन गर्नुपरेमा पनि लगत्तै गरिनेछ । सभापतिको हकमा राष्ट्रिय सभागृहमै र अन्य पदाधिकारी र सदस्यहरुको मतगणना पार्टी कार्यालयमा गरिने निर्वाचन समितिले जनाएको छ ।


प्रकाशित | २२ मंसिर २०७८, बुधबार १९:४३