परराष्ट्रप्रति विश्वास गुमेकै कारण अदालतको ढोका ढकढकाउन बाध्य भयौ : कुमार पन्त

काठमाडौं – गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रलायप्रति गैर आवासीय नेपालीहरुको विश्वास गुमेको कारण अदालतको ढोका ढकढकाउन बाध्य भएको बताउनु भएको छ । अध्यक्ष पन्तले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै परराष्ट्रको पछिल्लो निर्णय गैरकानूनी भएको भन्दै मुद्दा दायर गरिएको बताउनु भयो ।

उहाँले परराष्ट्र मन्त्रलायप्रति गैर आवासीय नेपालीहरुको विश्वास गुमिसकेको बताउँदै अब अदालतले न्याय दिनेमा आफू विश्वस्त रहेको बताउनु भयो । मन्त्रालयसँग पटक पटक छलफल गरेर निर्वाचन गर्न अनुरोध गरेको तर मन्त्रालयले नियतवस कार्यकाल सक्ने गरी समय गुजारेको उहाँको भनाइ छ । उहाँले तोकिएकै समयमा एनआरएनएको निर्वाचन हुने पनि बताउनु भयो ।

पन्तले परराष्ट्र मन्त्रालयले पार्टीको भातृसंस्थाको जस्तो प्रवृति देखाएको बताउँदै मन्त्रालयले अन्यायपूर्ण तरिकाले काम गरेको बताउनु भयो । मन्त्रालयले तोकेको उम्मेदवारले नजिते सम्म चुनाव हुन नदिने षड्यन्त्रमा लागेको उहाँले आरोप लगाउनु भयो ।

‘निर्वाचन तोकिएकै समयमा हुन्छ, अहिलेकै निर्वाचन कमिटिले निर्वाचन गर्छ, कोही निर्वाचन गराउन सक्दिन भन्नुहुन्छ भने पनि बाँकिले निर्वाचन गर्नुहुन्छ, उहाँले भन्नुभयो । उहाँले अबको केहि दिनमै निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनीक हुने बताउनु भयो ।

अध्यक्ष पन्तले संघको विधान विपरित प्रमुख संरक्षक शेष घलेले कार्यसमितिको सम्पूर्ण अधिकार माग गरेको पनि बताउनु भयो । उहाँले प्रमुख संरक्षक घलेले सम्पूर्ण अधिकार माग गरेपछि संघमा झन संकट आएको बताउनु भयो ।

पन्तले गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक घलेले संघको विवाद मिलाउन कुनै चासो नदेखाएको आरोप पनि लगाउनु भयो । घलेसंग पटक पटक सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआएर संस्थालाई अनिर्णयको बन्दी बनाएको उहाँको भनाइ छ ।

उहाँले संघका संरक्षकहरु गैर आवासीय नेपाली संघलाई फुटाउन लागेको र कुनै अमुक उम्मेदवारको पक्षमा लागेका संरक्षक परिषदका सदस्यहरुले सबै सदस्यहरुलाई न्याय नदिने आरोप लगाउनु भयो ।

अध्यक्ष पन्तले संघको विशेष महाधिवेशनको म्यानडेट र विधान अनुरुप सबै राष्ट्रिय समन्वय समितिको निर्वाचन सम्पन्न गरेर प्रतिनिधि चयन भएको बताँदै संघलाई असफल गराउने उद्देश्यले केही राष्ट्रिय समितिहरु अरुको उस्काहटमा लागेको बताउनु भयो ।  पत्रकार सम्मेलनमा संघका महासचिव डा. हेम राज शर्मा र प्रवक्ता डिबि क्षेत्रीले आआफ्नो भनाई राख्नु भएके थियो ।


प्रकाशित | ११ मंसिर २०७८, शनिबार १८:३१