कांग्रेससहितको समर्थनमा सभामुख सापकोटालाई महाभियोग लगाउँछौ: महेश बस्नेत

काठमाडौँ – नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव दर्ताको तयारी भइरहेको बताउनुभएको छ । मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै बस्नेतले सभामुखविरुद्ध महाभियोग आउने परिस्थिति सिर्जना हुन लागेको बताउनुभयो ।

महाभियोग कांग्रेसले पनि चाहेको र सदनलाई सूचारु गर्ने कुरामा एउटा सेफ ल्याण्डिङका रुपमा प्रयोग गर्नेगरी परिस्थिति बनेको दाबी गर्दै नेता बस्नेतले परिस्थिती बने पनि एमालेले अहिलेसम्म कुनै ठोस निर्णय नगरिसकेको बताउनुभयो । सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउन आफूहरु सय जना सांसद जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको पनि स्पष्ट पार्दै नेता बस्नेतले सभामुखले संसदमा दलीयभन्दा अभिभावकको भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

संसदमा एमसीसीको विषय प्रवेश हुने सूचना पाएको भन्दै सभामुखले व्यवस्थित ढंगले सदन सुचारु नगरे र आफ्नो पार्टीले राखेका माग पूरा नगरे सदनमा एमालेको बिरोध स्वभाविक रहने स्पष्ट पार्नुभयो।

नेता बस्नेतले भन्नुभयो, ‘हामी सय जना स्ट्याण्डबाई छौं । जुनबेला पनि सही गर्न तयार नै छौं । त्यसलाई संख्या पुर्यारउने कुरामा एमालेले पहल गरेर त्यो परिस्थिति सिर्जना गर्योय भने त्यो हुन पनि सक्छ । एमालेले सभामुख ज्यूलाई महाअभियोग दर्ता गरेर सेफ ल्याण्डिङ खोजोस् भन्ने कतिपय बुद्धिजीविहरुको सुझाव पनि छ । अस्ति एउटा कार्यक्रममा डा। मिनेन्द्र रिजाल र म सँगै थियौँ, युवासंघको कार्यक्रममा । उहाँले पनि त्यो भन्नुभयो । एमालेले महाअभियोगको प्रस्ताव दर्ता गरोस्, पास वा फेल हुने एउटा कुरा भयो । त्यसपछि सदनलाई सुचारु गर्ने कुरामा एउटा सेफ ल्याण्डिङको विषय हुनसक्छ भन्ने पनि आएको छ । भोलिदेखि सदन शुरु हुन लागेको छ । त्यसमा हाम्रो भूमिका कस्तो हुन्छ भन्ने छ । सदनमा एमसीसी विषयले प्रवेश पाउने खालको स्थिति देखिँदैछ । कार्यव्यवस्था समितिको बैठक डाकेर एमसीसीको सदनभित्र कसरी छलफल र प्रवेश गराउने भन्ने विषयमा सभामुख ज्यूले पहल लिँदै हुनुहुन्छ भन्ने कुरा हामीले सुन्न पाएका छौँ । म सभामुख ज्यूलाई फेरि पनि अनुरोध गर्न चाहन्छु, विद्यमान ऐन, कानूनलाई सम्मान गर्नु उहाँको धर्म हो र उहाँ प्रतिनिधिसभाको अभिभावको हिसावले भुमिका खेल्नुपर्छ । दलहरुको बीचमा पक्षपातपूर्ण व्यवहार गर्नुहुँदैन ।’

सभामुखसामू तीन विकल्प रहेको उहाँको तर्क छ । उहाँले भन्नुभयो, ‘पहिलो विकल्प भनेको हामीले कारबाही गरेका सांसदहरुको कारबाही पत्र सदर गर्ने, अनि दोस्रो विकल्प भनेको आफ्नो पदबाट राजीनामा दिएर परिस्थिति सहजीकरण गर्ने र तेस्रो विकल्प भनेको अदालतले छिटो फैसला गर्ने हो । यो भन्दा फरक विषय एमालेले अहिले सोचेको छैन । यी तीन कुरा नभएसम्म संसदमा एमालेको अवरोध कायमै रहन्छ ।’
आफ्नो पार्टीको भविष्य अन्धकार देखेको कारण प्रचण्ड र माधव नेपालले स्थानीय तहको निर्वाचन टार्ने षड्यन्त्र गरेको उहाँले आरोप लगाउनुभयो । वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारी निर्णयको स्वागत गर्दै बस्नेतले एमालेले कसैसँग पनि गठबन्धन नगर्ने स्पष्ट पार्नुभयो ।


प्रकाशित | २५ माघ २०७८, मंगलवार १८:३४