एनआरएनएको निर्वाचन आगामी डिसेम्बर तेस्रो साता गर्ने तयारी

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आगामी डिसेम्बर तेस्रो साता गर्ने तयारी थालीएको छ । यसअघि अक्टोबरमा तोकिएको निर्वाचन स्थगीत भएपछि निर्वाचन डिसेम्बरको तेस्रो साता गर्ने तयारी थालीएको हो ।

एनआरएनएको वर्तमान कार्यसमितिले विवाद सुल्झाउने र निर्वाचन सम्बन्धी सम्पूर्ण जिम्मेवारी अध्यक्ष कुमार पन्तलाई दिएपछि अध्यक्ष पन्तले निर्वाचन समितिलाई निर्वाचन मिति नै तोकेर निर्वाचन तालिका प्रकाशित गर्न पत्राचार गर्नु भएको हो ।

अध्यक्ष पन्तले परराष्ट्र मन्त्री नारायण खडकालाई संरक्षक परिषद्का सदस्यहरुसहितको टोलीले असंन्तुष्ट पक्षको मागलाई समेत सम्बोधन हुने गरि लिखित दस्तावेज र प्रतिवेदन बुझाइएको र उहाँ सकारात्मक हुनु भएकाले निर्वाचन प्रक्रिया अगाडि बढाइएको बताउनु भयो ।

अध्यक्ष पन्तले निर्वाचन स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गरेर संस्थालाई जिवन्तता दिनु आफ्नो जिम्मेवारी भएकाले विवाद र परराष्ट्रका विषयमा संस्थाको तर्फबाट सबैखाले जवाफदेहिता पुरा गरिसकेको बताउनु भयो ।

डिसेम्बर तेस्रो साता हुने महाधिवेशनका लागि आयोजना स्थललगायत अन्य काम तय भइसकेको उहाँले जानकारी दिनु भयो ।

उता निर्वाचन समितिले भने निर्वाचन प्रक्रिया अगाडि बढाउन केहि शर्तहरु राखेको छ ।  परराष्ट्र मन्त्रालयले उठाएका विषयहरु सम्बोधन गर्ने गरि सर्वपक्षीय सहमतीमा निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएको हो ।

स्रोतका अनुसार निर्वाचन समिति प्राप्त पत्रप्रति सकारात्मक भए पनि वैधानीकताको विषयमा भने स्पष्ट हुन चाहान्छ । कुनै एक पक्षलाई मात्र समेटेर निर्वाचनमा जाँदा त्यसबाट उत्पन्न हुने कानूनी जटिलतातर्फ निर्वाचन समिति सचेत छ र सकभर सबैको सहमतिमा अगाडि बढ्न जोड दिइरहेको छ ।

निर्वाचन समितिलाई निर्वाचन गराउन २२ दिन अघि कार्यतालिका सार्वजनीक गरिसक्नुपर्ने बाध्यता छ । यदी डिसेम्बरको तेस्रो सातासम्म निर्वाचन गर्नका लागि पनि नोभेम्बरको अन्तिम सातासम्म सहमति वा परराष्ट्रले स्वीकृति दिनुपर्ने हुन्छ । तर अहिलेसम्म एनआरएनको ८ वटा भन्दा बढी देशमा रहेको डेलिगेट्सको विवाद मिलीसकेको छैन ।

यदी सहमति नभएमा सन् २०२१ मा एनआरएनको निर्वाचन सम्भव देखिन्न । किनकी डिसेम्बरको तेस्रो साता पछि विदेशमा क्रिसमस र अंग्रेजी नयाँ वर्ष शूरु हुन्छ । त्यो अवस्थामा एनआरएनएको निर्वाचन सन् २०२१ मा नभई कार्यकाल ६ महिना लम्बिन सक्ने र त्यसपछिको समयमा निर्वाचन सम्भव नभएकाले निर्वाचन आगामी वर्षको अक्टोवरमा हुन सक्ने समेत अनुमान गरिन थालीएको छ ।


प्रकाशित | १ मंसिर २०७८, बुधबार १८:४०