यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

काठमाडौँ – सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नु भएको हो ।

सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेस गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय पनि गरेको बताउनु भयो ।

त्यस्तै, सरकारले मोतीपुर औद्योगिक करिडोर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । कुस्मामा चार सय केबी सबस्टेशन र जुम्ला सबस्टेसनका लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने, नेपाल कृषि तथा वन सेवा समूह समूहीकरणतर्फ राजपत्रांकित विशिष्ट श्रेणीको पदमा निरु दाहाल पाण्डेलाई बढुवा गर्ने, कीर्तिपुर नगरपालिका र चीनको वाइ प्रोभिन्सस्थित हु ह्याङ सहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति दिने निर्णय भएको उहाँले बताउनु भयो ।

त्यस्तैगरि, लोकसेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीका पदमा नियुक्त गर्ने, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को जेनेभामा सञ्चालन हुने स्पेसल सेसन अफ द वर्ल्ड हेल्थ एसेम्ली, डब्ल्यूएचए ७४ (१६) कार्यक्रममा सहभागी हुन स्वीकृत दिने निर्णयसमेत गरेको छ ।

मन्त्री कार्कीले खोप लगाउन योग्य बालबालिकादेखि वृद्धसम्म सबैलाई खोप लगाउने सरकारको नीति रहेको पनि जनाउनु भएको छ ।


प्रकाशित | २३ कार्तिक २०७८, मंगलवार १७:१८