अग्रिम टिकट बुकिङ असोज ५ बाट खुल्ने

काठमाडौं : दसैंमा राजधानीबाट बाहिरिने यात्रुको लागि यातायातको टिकट असोज ५ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा बिहीबार बसेको बैठकले असोज ५ देखि टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले दसैंंमा यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । राजधानीका विभिन्न १४ स्थानमा नागरिक सहायता कक्ष स्थापनसमेत स्थापना गरिने भएको छ ।

यात्रुलाई टिकेटिङ र यात्रा सहज गराउनको लागि नागरिक सहायता कक्ष स्थापना गर्न लागिएको हो । टिकटमा हुने कालोबजारी रोक्न विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा केन्द्रीय यातायात व्यवस्थापन अनुगमन समिति समेत गठन हुने निर्णय समेत गरेको छ । विभागका महानिर्देशक हमालले भने, “दसैँमा कुनै यात्रु नठगिन दिन अनुगमन समिति गठन गर्न लागेको हो । छठसम्म पुरानै भाडा रहनेगरी यातायात व्यवसायीसँग सहमति भएको छ ।”

यता, यातायातको व्यावसायमा संकटकालको अवस्थामा दसैं पर्व आएको भन्दै सरकारले सहयोग गर्नु पर्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आग्रह गरे । यस पटकको दसैंमा नयाँ यातायात नथपिने भन्दै दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने सिटौलाको भनाइ छ ।

नेपालको सडकको अवस्था दयनीय रहेको छ । ग्रामीण क्षेत्रमा रहेको सडकहरूको मर्मत आवश्यक रहेको भन्दै सडक विभागले तिव्रताका साथ काम अघि बढाउनुपर्ने छलफलमा व्यवसायीले बताए । पहाडी क्षेत्रमा पहिरोले सडकहरूको अवस्था बिग्रिएकोले अहिलेको अवस्थामा सडक मर्मतको आवश्यक रहेको उनीहरूले बताए । यो समाचार आजको कारोबार दैनीकमा छ ।

व्यावसायीले दसैँ तिहारसम्म पुरानै भाडा रहने गरी यातायात व्यवसायीसँग सहमति भएको भन्दै सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग राखेका छन् । व्यवसायीहरूले सडक सुधार र सहजीकरणको आवश्यक भएको भन्दै छठ पर्व पछि वैज्ञानिक भाडादर निर्धारण गरी सोअनुरूप लागू गर्नुपर्ने जनाए । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ खोल्नु अगाडि सार्वजनिक यातायातमा वैज्ञानिक भाडा हुनु पर्ने माग राखेका छन् । २०६९ सालपछि सार्वजकि यातायातमा वैज्ञानिक रूपमा भाडा समायोजन भएको छैन ।

दसैंं अगाडि भाडा नबढाउने तर दसैंंपछि भने सरकार र व्यवसायीले छलफलका आधारमा स्वचालित मूल्य प्रणाली (अटो प्राइस) लागू गर्नमा भने दुबै पक्ष सकारात्मक देखिएका छन् । अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्ने विषयमा विभाग र सरकारले चरण चरण वार्ता गदै सो सहमती गरेका थिए ।

दसैंंपछि यसका लागि एक कार्यदल गठन गर्ने र सोही कार्यदलले दिएको सुझावका आधारमा अगाडि बढ्ने सहमति भएको छ । कार्यदलले अध्ययन अनुसन्धान गरी अन्तर्राष्ट्रिय बजारमा इन्धन, र्ममत,पार्टपुर्जा तथा सवारी साधनसँग सम्बन्धित यन्त्र तथा उपकरणको मूल्य के कस्तो छ १७ वटा विषयमा अध्ययन गरी स्वचालित मूल्यमा कसरी जाने भन्ने सुझावका आधारमा मुल्य समायोजन गर्ने छ । अटो प्राइस निर्धारण गर्दा ३५ प्रतिशत इनधनको मूल्य र ६५ प्रतिशतमा यन्त्र उपकरण, श्रमिकको ज्याल र बिमालगायतका कुरा समावेश गरिन्छ ।


प्रकाशित | २७ भाद्र २०७६, शुक्रबार ०९:५१