कांग्रेस महाधिवेशन निर्धारित समयमै हुन्छ : देउवा

भक्तपुर – प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने बताउनुभएको छ । काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिद्वारा शुक्रबार आयोजित दिपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले महाधिवेशन निर्धारित समयमा नै सम्पन्न हुनेमा विश्वस्त पार्न खोज्नुभयो ।

महाधिवेशन मंसिर २४–२६ मा सम्पन्न गर्ने काँग्रेस निर्वाचन समितिको तयारी छ । सभापति देउवाले मंसिरभित्र कुनै हालतमा महाधिवेशन सक्न निर्वाचन समितिलाई निर्देशन दिएको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘जसले जे भनेपनि नपत्याउनुस् । अधिवेशन समयमा हुन्छ । अब महाधिवेशन पार्टी सभापतिको हातमा छैन । निर्वाचन समितिको हातमा छ । मैले चाहेर पनि हुँदैन । त्यसकारण उहाँहरु महाधिवेशन गर्न प्रतिबद्ध हुनुहुन्छ । हाम्रो पार्टीको महाधिवेशन समयमै होस् भन्ने कुरामा निर्वाचन समितिका सदस्यहरु चिन्तित हुनुहुन्छ । मैले मंसिरभित्र कुनै हालतमा महाधिवेशन सक्न निर्देशन दिएको छु । उहाँले मंसिरभित्र सक्ने प्रतिबद्धता जनाउनुभएको छ । महाधिवेशनको तयारीमा लाग्नुहोला ।’

जिल्ला अधिवेशनबाट भक्तपुरमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सुझाव दिँदै सभापति देउवाले प्रतिस्पर्धा गर्दा जित र हार हुने भन्दै दुस्मनी बढाउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भरसक सर्वसम्मतिबाट सभापति बनाउनुस् । हुँदै हुँदैन भनेपछि स्वस्थ प्रतिस्पर्धाबाट सभापति बनाउनुस् । प्रतिस्पर्धामा जाँदा जीत हार हुन्छ । जित्नेले हार्नेको सहयोग लिने र हार्नेले जितेकालाई साथ दिनुपर्ने हुन्छ । जित हारमा दुस्मनी नबढोस् ।’


प्रकाशित | १९ कार्तिक २०७८, शुक्रबार १४:०३