एक महिनामै २३ हजार विदेशी भित्रिए

काठमाडौँ – पर्यटकीय समय मानिने अक्टोबरमा मात्रै २३ हजारभन्दा बढी विदेशी नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अक्टोबरमा २३ हजार २८४ विदेशी भित्रिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका विदेशी यात्रुको यो सङ्ख्या कोभिड–१९ सङ्क्रमणयताकै सबैभन्दा धेरै हो । यसअघिको सेप्टेम्बरको तुलनामा यो सङ्ख्या दोब्बरभन्दा बढी हो ।

सेप्टेम्बरमा नौ हजार ९८९ विदेशी नेपाल भित्रिएका भिए । तथ्याङ्कअनुसार अक्टोबरमा भारतबाट मात्रै आठ हजार ७३६ नेपाल आएका छन् । त्यसपछि संयुक्त राज्य अमेरिकाबाट चार हजार ७११ जना नेपाल आएको तथ्याङ्क छ ।

तेस्रोमा बेलायतबाट एक हजार ३८१ जना नेपाल आएका छन् । क्षेत्रीय हिसाबले सार्कबाट नौ हजार ४२० जना नेपाल आएकामा एसियाबाट ७३१ जना विदेशी भित्रिएका छन् । युरोपबाट पाँच हजार १९ भित्रिँदा, अमेरिकी मुलुकबाट पाँच हजार २७४ र ओसियना क्षेत्रबाट १५० जना विदेशी नेपाल आएको देखिन्छ ।

कोरोना सङ्क्रमणका कारण सबैभन्दा प्रभावित बनेको पर्यटन क्षेत्रका लागि यो सङ्ख्याले सकारात्मक सङ्केत गरेको बोर्डका निर्देशक मणि लामिछानेले बताउनुभयो ।

“सन् २०१९ को अक्टोबरको तुलनामा यो सङ्ख्या निकै कम भए पनि पछिल्ला केही महिनायता विदेशी यात्रुको सङ्ख्या बढ्नुले पर्यटन क्षेत्रका लागि खुद भविष्यको सङ्केत गर्छ,” उहाँले भन्नुभयो ।

विदेशी यात्रुका लागि सरकारले ‘अनअराइभल भिसा’ उपलब्ध गराउने आदेश जारी गरेपछि नेपाल भित्रने विदेशीको सङ्ख्या बढेको उहाँले जानकारी दिनुभयो । कोभिड–१९ सङ्क्रमणकै कारण नेपालको पर्यटन क्षेत्रले अर्बौं रुपियाँ क्षति बेहोर्नुपरेको तथ्याङ्क सार्वजनिक भइसकेको छ ।

विश्वका विभिन्न देशले पछिल्लो समय यात्रा खुकुलो बनाएपछि आवतजावतको क्रम बढ्न थालेको छ । नेपालले पनि विदेशी यात्रुका लागि लगाएको प्रतिबन्ध खुकुलो गर्ने आदेश जारी गर्दै सबै विदेशी यात्रुलाई सर्तसहित ‘अन अराइभल भिसा’ उपलब्ध गराउने बाटो खोलेको हो ।

पछिल्लो पटक यात्रासँग सम्बन्धित विश्वकै चर्चित कम्पनी लन्ली ट्राभलले नेपाललाई सन् २०२२ मा घुम्नैपर्ने देशको सूचीमा समावेश गरेको छ । यसले विदेशी पर्यटक नेपाल भित्र्रयाउन सकारात्मक सन्देश प्रवाह हुने भन्दै पर्यटन व्यवसायीले खुसी व्यक्त गरेका छन् ।


प्रकाशित | १८ कार्तिक २०७८, बिहीबार ११:२१