स्टोक्सलाई ‘विस्डेन लिडीङ क्रिकेटर इन द वर्ल्ड’ अवार्ड

एजेन्सी : इंग्ल्यान्डका विश्वकप विजेता बेन स्टोक्सले ‘विस्डेन लिडीङ क्रिकेटर इन द वर्ल्ड’ अवार्ड जितेका छन् । विश्वकै प्रतिष्ठित क्रिकेट पुस्तक विस्डेन अलम्यानाकले बुधबार सार्वजनिक गरेको अवार्डमा विश्वकप हिरो स्टोक्सले उक्त अवार्ड पाएका हुन् ।

स्टोक्सको उच्च प्रदर्शनले इंग्ल्यान्डले घरेलु मैदानमा भएको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको थियो । फाइनलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई हराएको थियो ।

स्टोक्सले विश्वकपमा ४६५ रन बनाएका थिए । रोमान्चक फाइनलमा उनले अविजित ८५ रन बनाएका थिए । स्टोक्स फाइनलमा प्येलर अफ दि म्याच समेत बनेका थिए । महिलातर्फको यस अवार्ड अष्ट्रेलियाकी एलिस पेरीले जितेकी छिन् ।

यस्तै इंग्ल्यान्डका जोफ्रा आर्चर, अष्ट्रेलियाका पाट कुमिन्स, मार्नुस लाबुसचाँगे, दक्षिण अफ्रिकाका सिमोन हार्मेर र एलिस पेरीले क्रिकेटर अफ दि इयरको उपाधि पाएका छन् ।  आन्द्रे रसेलले टी-ट्वान्टीतर्फको ‘विस्डेन लिडीङ क्रिकेटर इन द वर्ल्ड’ अवार्ड जितेका छन् ।

विस्डेन अलम्यानाकलाई क्रिकेटको बाइबल मानिन्छ । र, यस पुस्तकको कभरमा आफुलाई उभ्याउन क्रिकेट खेलाडीहरुको सपना हुने गर्छ ।  विस्डेन अलम्यानाकले हरेक वर्ष क्रिकेट अवार्ड प्रदान गर्ने गर्छ ।


प्रकाशित | २६ चैत्र २०७६, बुधबार १७:४४