मुस्ताङ- मुस्ताङको मुक्तिनाथ क्षेत्रमा निर्मित ३५ फिट अग्लो बुद्धको मूर्तिको राष्ट्रपति विद्यादेवी भण्डारीले निरीक्षण गर्नु भएको छ । राष्ट्रपति भण्डारीले शनिबार मूर्तिको निरीक्षण गर्नु भएको हो । राष्ट्रपति भण्डारीलाई बुद्धको मूर्ति निर्माण गर्नु भएको सोनाम लामालगायत स्थानीयले स्वागत गर्नु भएको थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले बुद्ध भगवानको दर्शन गर्न पाउँदा आफू असाध्यै खुशी भएको बताउनुभयो । यस्तो स्वर्ग जस्तो मुक्ति भुमिमा यति ठूलो बिशाल बुद्ध मुर्ति स्थापना गर्नु अर्को मुक्ति भन्दै यहाँको तस्विरहरु संसारभरि पुर्याउन पनि आग्रह गर्नु भयो ।
एनआरएनए उपाध्यक्ष समेत रहनु भएको लामाले ५ करोड बढी रकम खर्चिएर बुद्ध मूर्ति निर्माण गर्नु भएको हो । उक्त बुद्धमूर्ति अहिले धार्मिक पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ। लामाले निर्माण गर्नु भएको बुद्धमुर्तिसँगै पाँचवटा स्तुपाहरु पनि निर्माण गर्नु भएको छ । पाँचवटा स्तुपाहरुमा बुद्धका पाँचवटा स्वरुपहरु रहेका छन् ।
मुक्तिनाथमा हिन्दुमन्दिरको नजिकै स्थापित बुद्धमूर्ति नेपालको सबैभन्दा अग्लो स्थानमा स्थापित ठूलो ढुंगाको बुद्धमूर्ति हो । १२ हजार ६ सय फिटको उचाईमा स्थापित मूर्तिको तौल झण्डै ६० हजार किलो रहेको छ ।
मुक्तिनाथमा स्थापना गरिएको बुद्धको मूर्ति काठमाडौंको पाटनमा निर्माण गरिएको हो । चर्चित नेपाली मूर्तिकार धर्मराज शाक्यको डिजाइन र उनका भाई उत्तम शाक्यको सहडिजाइनमा बुद्धमूर्ति निर्माणका लागि २० जना भन्दा धेरै कालिगढहरु संलग्न रहेका थिए ।
फर्पिङबाट ल्याइएको विशेष प्रकारको ढुंगाबाट मूर्ति बनाइएको हो, जसको आयु हजारौं बर्ष रहेको छ । बुद्धमूर्तिमा टाउको मात्र पाँच फिट अग्लो रहेको छ । टाउकोको तौलमात्र झण्डै ५ हजार किलोको रहेको छ । टाउकोमाथि डेढ फिट अग्लो मुकुट रहेको छ । बुद्धमूर्तिको पाखुराको लम्बाई ९ फिट र चौडाई १८ इन्च रहेको छ ।
मुक्तिनाथमा स्थापना गरिएको बुद्धमूर्ति शाक्यमुनी बुद्धको मूर्ति हो । नेपालको लुम्बिनीमा जन्मिएका बुद्धको मूर्ति नै मुक्तिनाथमा स्थापना गरिएको हो । मूर्तिमा बुद्ध भूमीस्पर्स मुद्रामा रहेका छन् ।
त्यस्तै, लामाले स्वीकृत लिनुभएको करिब ६ रोपनी क्षेत्रफलभित्र झरना, बगैचा, ११ वटा ढुंगे पानी धारा, पाँच वटा स्तुपा बनाइएको छ भने मूर्तिसँगै पार्क पनि बनाइएको छ । लामाले सो स्तुपा आफना परिवारको नाममा बनाउनुभएको हो । आफू, धर्मपत्नी, एक छोरा र दुई छोरीको नाममा पाँच वटा स्तुपा निर्माण गरिएको हो ।
मूर्तिबाट अगाडि धौलागिरी हिमाल र बायाँ साइटबाट निलगिरी हिमाल देखिने गरि मनोरम दृश्यले सबैलाई लोम्याउँछ । साथै सो ठाउँबाट हिमालको मनोरम दृश्य देखीने गरि तस्विर कैद गर्न सक्ने गरि संरचना बनाइएको छ ।
त्यस्तै, गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले केहि दिन अघि मात्र मुक्तीनाथको भ्रमण गर्दै सोही क्षेत्रमा ढुङ्गाबाटै कुदेर बनाइएको बुद्धको मूर्तिकै उचाइमा ढुङ्गाकै मूर्ति कुदेर विष्णु मूर्ति बनाउने घोषणा गर्नु भएको छ ।
प्रकाशित | १३ कार्तिक २०७८, शनिबार २१:५७