सिन्धुपाल्चोकमा पहिलो पटक महिला सिडिओ : यसअघि ४६ जना पुरुष सिडिओ बनेका थिए

सिन्धुपाल्चोक: सिन्धुपाल्चोकले पहिलो पटक महिला प्रमुख जिल्ला अघिकारी (सिडिओ) पाएको छ। गृह मन्त्रालयकी उपसचिव गोमादेवी चेम्जोङ पहिलो पटक जिल्ला प्रमुख भएर सिन्धुपाल्चोक आउनुभएको हो । उहाँले जिल्लाको ४७ औँ सिडिओको रुपमा कार्यभार सम्हाल्नु भएको छ । यसअघि ४६ जना पुरुष सिडिओ बन्दा महिलाले यो अवसर पाएका थिएनन ।

सिन्धुपाल्चोकले यसअघि उपसचिव दुर्गा बञ्जाडेलाई पहिलो सहायक सिडिओ पाएको थियो। जिल्लाको सिडिओमा सहसचिव दरबन्दी रहे पनि गृहले चेम्जोङलाई बरिष्ठ उपसचिवको हैसियतमा कामु सहसचिव बनाउँदै जिल्ला प्रमुखको जिम्मेवारी दिएको हो।

शुक्रबार हाजिर भएर पदभार सम्हालेकी चेम्जोङ जिल्लाको बस्तुस्थिति र समस्या बुझ्न कर्मचारी, राजनीतिक दलका नेता, नागरिक समाजसँग भेटघाट र अन्तरक्रियामा ब्यस्त रहनुभयो । कर्मचारी समयोजनमा संघ रोज्नुभएको उहाँले गृहमन्त्रालयबाट सरुवा भएर आउनुभएको हो । उहाँले यसअघि भोजपुरको सिडिओ चलाउनुभएको थियो ।


प्रकाशित | ११ बैशाख २०७६, बुधबार ०९:५३