एनआरएनए एनसीसीहरुको विश्व भेलाको आयोजना, संस्थापन पक्ष भन्छ – जानकारी नै छैन

काठमाडौं –  गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसिसीहरुको विश्व भेलाको आयोजना गरिएको छ । संंघको दशौं महाधिवेशन र निर्वाचन स्थगन गर्दै वर्तमान कार्यसमितिको म्याद ६ महिना थपिएपछि कुल आचार्य पक्षधरले एनसिसीहरुको विश्व भेलाको आयोजना गरेको हो । आचार्य पक्षधरले ६ महिना म्याद थप गर्ने निर्णय अवैधानीक भएको भन्दै विरोध जनाउँदै आएको छ ।

आचार्य पक्षले आइतबार समानान्तर भेला बोलाएको हो । ‘राष्ट्रिय समन्वय परिषदहरुको विश्व भेला’ नाम दिइएको सो भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । शनिबार एक पत्रकार सम्मेलन आयोजना गर्दै भेला महाधिवेशन रोकिएपछि देखिएको समस्या समाधानका लागि राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको पहिलो विश्व भेला गर्न लागिएको जनाइएको छ ।

भेला आयोजक समितिका संयोजक तथा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले अहिलेको अवस्था पार लगाउन भेला आयोजना गरिएको बताउनु भयो । ‘एनसीसीका साथीहरुले नै अहिलेको अवस्थाबाट पार लगाउनुपर्छ भने पछि नै भेला आयोजना गरेका हौं’ उहाँले भन्नु भयो । यस बारे केन्द्रीय अध्यक्ष कुमार पन्तसँग पनि छलफल गरिसकेको जानकारी गराउँदै संयोजक सुवेदीले यो कुनै पनि व्यक्ति वा गुटको भेला नभएको बताउनु भयो ।

‘हामीले संस्थालाई शिरमा राखेर अघि बढेका छौं । यो भेलाको निष्कर्षले आईसीसीलाई भोलिको दिनमा कदम चाल्नका लागि सहयोग पुग्छ’, संयोजक सुवेदीले भन्नु भयो, ‘अध्यक्ष र महासचिव दुवै जनालाई पनि अनुरोध गरेका छौं । विधानको १६।४ मा एनसीसी अध्यक्षहरुको भेलाबाट समस्याको समाधान खोज्न सकिने उल्लेख गरिएको छ । हामीले निकालेका निष्कर्ष आईसीसीमा पुर्याउने छौं ।’ संस्थाको मर्यादा र विधि विधान अनुसार नै विश्व भेला आयोजना गर्न लागेको उहाँले बताउनु भयो ।

भेला उद्घाटन समारोहमा परराष्ट्रमन्त्री, संघका पूर्व अध्यक्षहरु, आईसीसीका पदाधिकारीहरुलाई निमन्त्रणा गरिएको उहाँले जानकारी दिनु भयो । त्यसैगरी बन्द सत्रमा एनसीसी अध्यक्षहरुबीच छलफल हुने र त्यसबाट आएको निष्कर्ष आईसीसीलाई बुझाउने सुवेदीले बताउनु भयो । एनसीसी स्पेनका अध्यक्ष शालिकराम डुम्रेले १८ वर्षको इतिहासमै पहिलो पटक संकटकालिन स्थितिमा एनआरएनए पुगेको टिप्पणी गर्नु भयो ।

‘यो समयमा हामी आफै सक्रिए भएर निराकरण नगरेमा एनआरएनए नै रहने या नरहने भन्ने अवस्था आएकाले हामीले यो कदम चालेका हौं’, उहाँले भन्नु भयो, ‘सबैको समान अस्तित्व हुनुपर्छ भन्ने भावनाका साथ यो काम गरिएको हो ।’

कार्यक्रममा एनसीसी अष्ट्रियाकी अध्यक्ष भवानी तिवारीले सबै एनसीसीका अध्यक्षहरुको काँधमा पनि जिम्मेवारी आएको बताउनु भयो । ‘अहिलेको अवस्थामा एनआरएनएको साख जोगाउन हामी एनसीसीहरु लाग्नुपर्छ’, उहाँले भन्नु भयो, ‘एक अर्कालाई दोषारोपण गर्नुभन्दा पनि सबै मिलेर अघि बढ्न आग्रह गर्छु ।’

कार्यक्रममा एनआरएन जापानका पूर्व सल्लाहकार तथा अन्तर्राष्ट्रिय कानूनका ज्ञाता डा बलराम श्रेष्ठले एनआरएनए एनसीसीहरुको भेला विधान सम्मत नै रहेको बताउनु भयो ।

‘संसोधित विधान अनुसार १६.१।४ मा आशय लेखिएको छ । राष्ट्रिय समितिहरुको आधारमा आईसीसी बनेको हो । १८ वर्षमा पहिलो पटक हुन लागेकाले असहज लागेको हुन सक्छ’, श्रेष्ठले भन्नु भयो, ‘कर्तव्य सँगसँगै अधिकार पनि आउने भएकाले आईसीसी प्यासिभ हुँदा एनसीसी एक्टीभ हुनसक्छ भन्ने आसय भएको श्रेष्ठले बताउनु भयो ।

त्यसैगरी एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहा मगरले पहिलोपटक १० औं महाधिवेशन तोकिएको समयमै नभएकाले एनसीसीहरु अन्यौलमा परेकाले अन्यौल हटाउन आफुहरु लागि परेको जानकारी दिनुभयो ।

‘नेपाल सरकारले मान्यता दिएको संस्थालाई एक ढिक्का बनाउनु पर्छ र अन्यौल हटाउनु पर्छ भनेर नै लागेका छौं’, उहाँले भन्नु भयो, ‘ दशौँ महाधिवेशन तथा चुनाव ३० नोभेम्बर भित्र हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । एनसीसी बिना आईसीसी चल्दैन । हामीले यो उहाँहरुलाई झकझक्याएको मात्र हो ।’

भेलाको बारेमा जानकारी छैन : अध्यक्ष पन्त

त्यस्तै, संघका अध्यक्ष कुमार पन्त र महासचिव डा हेमराज शर्माले एनसीसीहरुलाई इमेल गरेर भेलामा सहभागी नहुन निर्देशन जारी गर्नु भएको छ । अध्यक्ष पन्तले विश्व सन्देशसँँग कुराकानी गर्दै भेलाको विषयमा कुनै जानकारी नभएको बताउनु भयो ।

भेला आयोजना गर्न लागिएको विषय सामाजीक सञ्जालमा सुन्नमा आएको छ, त्यस बारेमा मलाई कुनै जानकारी छैन, यदी कसैले आयोजना गरेको हो भने त्यो संस्थाले नभई कुनै ब्यक्ती गुटले आयोजना गरेको हुनुपर्छ, उहाँले भन्नु भयो ।


प्रकाशित | ६ कार्तिक २०७८, शनिबार ०९:५०