उपत्यकामा निषेधाज्ञा प्रभावकारी भएको निष्कर्ष

काठमाडौँ । कोभिड–१९ सङ्क्रमणको दोस्रो भेरियण्ट फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको महिना दिन पुगेको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बैशाख १६ गतेबाट उपत्यकामा निषेधाज्ञा जारी गरेका हुन । सो अवधिमा निषेधाज्ञा उलङ्घन गरेको भन्दै करीव ३३ हजार सवारी साधन र एकहजार आठसय जनालाई होल्ड गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार, निषेधाज्ञा कार्यान्वयनका लागि ट्राफिक र अन्य गरी करिव पाँचहजार सुरक्षाकर्मी परिचालन गरिएको छ । उपत्यका प्रवेशको सात नाका सहित पाँचसय स्थानमा नियमित चेक पोष्ट स्थापना गरिएको छ ।

निषेधाज्ञा उलङ्कन गर्ने विरुद्ध ‘होल्ड’ कारवाही अन्तरर्गत सवारी साधनको हकमा साँझ ६ वजेसम्म र सर्वसाधारणलाई आधा घण्टा सडकमै उभ्याई सम्झाई बुझाई गरी फर्काइँदै आएको छ । तर, पछिल्लो पटक कोभिड–१९ सङ्क्रमण व्यवस्था अध्यादेश जारी पछि जरिवाना तथा कैद सजाय तयारी गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पहिलो तीन हप्ताको निषेधाज्ञामा कोरोना संक्रमण नघटेपछि चौथो पटक थप कडाई गरिएको स्पष्ट पार्नुभयो । सोही रणनीति अनुसार, खाद्य, थोक तथा किराना पसल र डिपार्टमेण्ट स्टोरहरु पूर्णरुपमा बन्द गरिएको हो ।
कोरोना महामारी नियन्त्रणको अन्तिम विकल्प निषेधाज्ञा नै भएकाले कडाई गर्नु परेको भनाइ उहाँको छ । संक्रमितको संख्या प्रतिदिन घट्नु नै निषेधाज्ञाको प्रभावकारिता भएको बुझाई प्रमुख जिल्ला अधिकारी पराजुलीको छ ।

त्यस्तैं, महानगरीय प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पाल सरकारको निर्णय अनुसार, निषेधाज्ञा कार्यान्वयनमा कुनै कसुर बाँकी नराखेको बताउनुहुन्छ । मातहतका सम्पूर्ण सुरक्षा निकायलाई सुरक्षित र मर्यादित ढंगले निषेधाज्ञा कार्यान्वयनमा खटाइएको उहाँले स्पष्ट पार्नुभयो ।

महानगरीय प्रहरीले निषेधाज्ञा उलङ्घन गर्नेलाई कारवाहीका अतिरिक्त अफ्ठयारोमा परेका नागरिक, विरामी तथा विरामीका आफन्तको आवागमनमा सहजीकरण गरिएको बताएको छ । होल्डमा राखी गरिने कारवाहीलाई निरन्तर्ता दिने जनाएको छ ।

उपत्यकाको तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले संक्रमितको संख्या पाँचसयसम्म झरेमा जारी निषेधाज्ञामा पुनःविचार गर्न सकिने जनाएको छ । बैशाख २४ गते अघि उपत्यकामा संक्रमितको संख्या दैनिक चारहजार रहेको थियो ।

तर, जेठको दोस्रो हप्ताबाट यो संख्या घटेर तीनहजारमा छरेको छ । संक्रमण घटाउन जारी निषेधालाई जेठ मसान्तसम्म निरन्तर्ता दिदै आमनागरिकलाई सुरक्षित, अनुशासित र सामाजिक मापदण्ड कार्यान्वयन प्रभावकारी बनाइने जिल्ला प्रशासन कार्यालयहरुको तयारी छ ।


प्रकाशित | १८ जेष्ठ २०७८, मंगलवार ०८:४०