एनआरएनएको निर्वाचन स्थगीत, चाँडै नयाँ मिति तोक्ने निर्णय

काठमाडौं  – गैर आवासीय नेपाली संघको १० औं महाधिवेशन तथा निर्वाचन स्थगित भएको छ । गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार सम्पन्न बैठकले महाधिवेशन, निर्वाचन र विश्व सम्मेलन स्थगीत गर्ने निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयमा प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै उजुरी परेपछि मन्त्रालयले विवाद निरुपण गरेर मात्र निर्वाचनमा जान निर्देशन दिएसँगै निर्वाचन स्थगीत भएको हो ।

भर्चुअल माध्यमबाट अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल गर्दै मन्त्रालयको सुझाव अनुसार पुर्वनिर्धारित २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैर आवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरिएको प्रवक्ता डिवी क्षेत्रीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितहरुसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर विशेष परिस्थितिमाथि छलफल गरि थप निर्णय गरिने जनाइएको छ ।


प्रकाशित | २५ आश्विन २०७८, सोमबार १५:३५