एनआरएनएमा धुव्रीकरण रोक्न सहमति र सहकार्य आवश्यक : महेश श्रेष्ठ

काठमाडौं – गैर आवासीय नेपाली संघका कोषाध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठले संस्थामा भइरहेको तीब्र धुव्रीकरण रोक्न सहमति र सहकार्यको विकल्प नभएको बताउनु भएको छ ।

संस्थामा पछिल्ल्लो समय डेलिगेट्स सम्बन्धी विवाद, चरम राजनीतिकरण र विभिन्न प्यानलले गर्दा तीब्र धुव्रीकरण भइरहेका बेला श्रेष्ठले धुव्रीकरण रोक्न सहमति र सहकार्यको विकल्प्न भएको बताउनु भएको हो ।

विश्व सन्देशसँग कुराकानी गर्दै श्रेष्ठले विश्वभरि बस्ने गैर आवासीय नेपालीहरुको साझा संस्थामा धुव्रीकरणले गलत सन्देश प्रवाह भइरहेको बताउनु भयो । साथै उहाँले साझा संस्थामा साझा नेतृत्व आवश्यक रहेकोमा पनि जोड दिनु भयो ।

एनआरएनमा विभिन्न प्यानल बनाउन आचारसंहिताले नदिने भएपनि प्यानलहरु निर्माण भइरहेको बताउँदै श्रेष्ठले आचारसंहिता विपरीतका कार्य कसैले पनि गर्न नहुने बताउनु भयो । यद्यपी आफूले दुवै पक्षसँग समन्वयकारी भूमीका खेल्न प्रयास गरिरहेको श्रेष्ठले  बताउनु भयो ।

त्यस्तै, श्रेष्ठले आफूलाई दुवै टिमले राख्न खोजेको भए पनि आफूले कुनै प्यानलमा खुलेर नलागेको र त्यो आचारसंहिताले पनि नदिने बताउनु भयो । अघिल्लो सन् २०१९-२०२१ कार्यकालको निर्वाचनमा पनि श्रेष्ठले दुवै टिममा परेर सबैभन्दा बढी मत ल्याई विजयी हुनु भएको थियो ।

 


प्रकाशित | २० आश्विन २०७८, बुधबार १०:११