एनआरएनए निर्वाचन : डा. बद्री केसी प्यानलले उम्मेदवारको टुङ्गो लगायो

काठमाडौं  – गैर आवासीय नेपाली संघको निर्वाचनमा डा. बद्री केसी प्यानलले आफ्नो उम्मेदवारको टुङ्गो लगाएको छ । डा. केसी प्यानलले क्षेत्रीय बाहेक केन्द्रीय उम्मेदवारहरुको टुङ्गो लगाएको हो ।

डा. केसी समूहबाट खुला उपाध्यक्षमा डा. हेम राज शर्मा (यूके), महेश कुमार श्रेष्ठ (जापान), डिबी क्षेत्री (ओमान) र धर्मराज अधिकारी (अष्ट्रेलिया) रहनु भएको छ । महिला उपाध्यक्षमा यसमिन बेगम सैयद  (साउदी अरब) र युवा उपाध्यक्षमा रोशन थापा (अफ्रिका) पर्नु भएको छ ।

केसी टिमको महासचिवमा गौरी राज जोशी, एक महिला अनिवार्य सहितको ४ जना सचिव पदमा रामशरण सिम्खडा (यूके), चिरन्जीबी घिमिरे (क्यानाडा), ओम गुरुङ (जापान) र महिलातर्फ राधिका (टिका) गुरुङ (हङकङ) पर्नु भएको छ ।

त्यस्तै, कोषाध्यक्ष पदमा लोक प्रसाद दाहाल (बेल्जियम) र सहकोषाध्यक्ष पदको उम्मेदवार भने टुंग्गो लाग्न बाँकि रहेको जनाइएको छ । उता महिला सहकोषाध्यक्षमा भने यमुना भट्टराई (अमेरिका)  पर्नु भएको छ ।

त्यस्तैगरि, महिला संयोजकमा संगिता मरहठ्ठा (यूके) र युवा संयोजकमा मिलन छन्त्याल (आयरल्याण्ड) पर्नु भएको छ । उता क्षेत्रीय संयोजक तथा उपसंयोजकका उम्मेदवारहरुको भने टुंग्गो लाग्न बाँकि रहेको जनाइएको छ ।

त्यस्तै, केसी टिमले आफ्नो औपचारिक उम्मेदवारी घोषणा भने तत्काल नगर्ने भएको छ । अध्यक्षका उम्मेदवार केसीले आन्तरिक गृहकार्य भइरहेकाले औपचारिक उम्मेदवारी घोषणा अली ढिला हुन सक्ने बताउनु भयो ।

आगामी अक्टोबर (२३-२५) मा संघको दसौ विश्व सम्मेलन तोकिएको छ । विश्व सम्मेलन अगावै गर्ने भनीएको निर्वाचन मिति भने अहिलेसम्म तोकिएको छैन । यद्यपी नेतृत्वका लागि बेलायतका ब्यबसायी तथा वर्तमान सल्लाहकार कुल आचार्य र अमेरिकाबाट हाल उपाध्यक्ष रविना थापाले यसअघि नै उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।

आचार्य टिमले उम्मेदवारहरुको टुंग्गो लगाउन बाँकि रहेको जनाएको छ भने थापा टिमले उपाध्यक्षमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीको नाम मात्र टुंग्गो लगाएको छ ।


प्रकाशित | १२ आश्विन २०७८, मंगलवार १७:३८