परराष्ट्रको पत्र कुर्दै एनआरएनए, निर्वाचन अन्यौलमा

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन अन्यौलमा परेको छ । संघको तोकिएको दसौं विश्व सम्मेलन आउँन एक महिना पनि बाँकि नरहँदा अहिलेसम्म निर्वाचनको मिति घोषणा हुन सकेको छैन । एनआरएनएको निर्वाचन विश्व सम्मेलन अगावै गर्ने तयारी थियो । तर निर्वाचन मिति अहिलेसम्म घोषणा हुन नसकेको हो ।

डेलिगेट्स चयनमा धाँधली भएको भन्दै उजुरी परेपछि परराष्ट्रले तत्कालको लागि निर्वाचन सम्बन्धी प्रक्रिया स्थगन गर्न संघलाई निर्देशन दिदै एक छानवीन समिति बनाएको थियो । सो निर्देशनसँगै संघको आगामी अक्टोवरमा हुने भनीएको निर्वाचन सम्बन्धी प्रक्रिया स्थगीत गरिएको थियो ।यद्यपी संघले गठन गरेको निर्वाचन समितिले निर्वाचन अक्टोवर २० तारिखमा गर्न प्रस्ताव गरेको थियो ।

संघका अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयले निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि बढाउन अनुमति दिएसँगै निर्वाचनको मिति घोषणा हुने बताउनु भयो ।  विश्व सन्देशसँग कुराकानी गर्दै अध्यक्ष पन्तले निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि बढाउन मन्त्रालयको अनुमति आवश्यक भएकाले मन्त्रालयको पत्र कुरेर बसेको बताउनु भयो ।

अध्यक्ष पन्तले मन्त्रालयले निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक नगर्नु भनेकाले प्रतिवेदनलाई आधार मानेर सुझाव नदिएसम्म निर्वाचन मिति घोषण गर्न नमिल्ने पनि बताउनु भयो । ‘मन्त्रालयले ढिलोमा यो साताभित्र पत्र पठाउँछौ भनेको छ’, उहाँले भन्नु भयो । उहाँले परराष्ट्र मन्त्री अमेरिकाबाट फर्किएसँगै तुरुन्तै निर्णय हुने पनि विश्वास ब्यक्त गर्नु भयो ।

अध्यक्ष पन्तले अन्य निर्वाचन सम्बन्धी आन्तरिक गृहकार्य भइरहेकाले अक्टोवरमा निर्वाचन गर्न कुनै समस्या नभएको पनि स्पष्ट पार्नु भयो ।  यता मन्त्रालय स्रोतले भने छानवीन समितिले प्रतिवेदन तयार पारिरहेकाले अझै केहि सयम लाग्ने बताएको छ ।

डेलिगेट्स सम्बन्धी विवाद टुंग्याउन केहि दिन अघि बसेको आइसिसी बैठकले एनसिसीलाई पाँच दिनको समय तोकेको छ । सो समयसम्म पनि विवाद नटुंगीए संघले गठन गरेको उच्चस्तरीय समितिले टुंग्याउने जनाइएको छ ।


प्रकाशित | ११ आश्विन २०७८, सोमबार १७:४०