संस्थाभित्रको कमी कमजोरी तथा बेथितिलाई नसच्याई चुनावमा जान हतार गर्नु गलत : सोनाम लामा

काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले संस्थाभित्रको कमी कमजोरी तथा बेथितिलाई नसच्याई चुनावमा जान हतार गर्नु गलत हुने बताउनु भएको छ । विश्व सन्देशसँग कुराकानी गर्नुहुँदै उपाध्यक्ष लामाले संस्थाभित्रको कमी कमजोरी सच्याएर मात्र चुनावमा जानु उचित हुने बताउनु भएको हो ।

उहाँले चुनाव ढिलै भए पनि विधानसम्मत हुनुपर्ने र सबैलाई चित्त बुझाएर मात्र अगाडि बढनु उचित हुने बताउनु भयो । चुनाव छिटो गर्ने नाममा डेलिगेटसको विवाद नटुग्याई, विधी, विधान र पद्धतिलाई वेवास्था गरेर चुनावमा गए चुनाव निस्पक्ष हुन नसक्ने भन्दै केहि समय लगाएर भए पनि गलत कार्यलाई सच्याउनुपर्ने बताउनु भयो ।

चुनावमा कसले जित्छ कसले हार्छ भन्दा पनि संस्थालाई जोगाउन सबै सचेत हुनुपर्ने उहाँको जोड छ । उहाँले विधानविपरीत भएका गलत कार्यलाई सच्याउनुपर्नेमा जोड दिर्दै चाँडो गर्ने नाममा विधी विधानविपरीतको कार्य स्वीकार्न नसकिने स्पष्ट पार्नु भयो ।

‘हामीले गल्ती ढाकछोप नगरि यो क्यान्सर जस्तो रोग भएकाले यसलाई समयमै नियन्त्रण गरिनुपर्छ’, उहाँले भन्नु भयो, ‘अहिले देखि नै यो क्यान्सरलाई नियन्त्रण गर्न सकिएन भने संस्था गलत बाटोमा जान सक्छ भन्नेतर्फ सबैको ध्यान जानुपर्छ ।’

परराष्टमा दर्ता भएको संस्था भएकाले उसको निर्देशनलाई मान्नुपर्ने र गलत ब्याख्या गरिनु पनि उचित नहुने विचार राख्नु भयो । उहाँले विभिन्न देशमा भइरहेका धाँधलीको विषयमा परराष्ट्रले छानवीन गरिरहेकाले छानवीन कार्यमा सहयोग गर्न समेत सबैमा आग्रह गर्नुभयो ।

विभिन्न देशको निर्वाचन र प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि एनआरएनएको निर्वाचन सम्बन्धी प्रक्रिया स्थगन भएको छ भने मन्त्रालयको छानवीन समितिले प्रतिवेदन तयार पारिरहेको जनाएको छ ।


प्रकाशित | ९ आश्विन २०७८, शनिबार २२:२७