जेठ २ मा फर्कियो एमाले सम्बद्ध राष्ट्रिय उद्योग व्यवसाय महासंघ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले सम्बद्ध उद्योगी व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ जेठ २ मा फर्किएको छ । पार्टीले गरेको दश बुँदे सहमति लागू गर्न बिहिवार बसेको बैठकले एलपी साँवा लिम्बुलाई नै अध्यक्ष कायम राख्दै जेठ २ अघिको संरचना क्रियाशील गर्ने निर्णय गरेको हो ।

जेठ २ अघिका अध्यक्ष लक्ष्मीदास मानन्धर उमेरले ९५ बर्ष पुगिसकेकाले सल्लाहकारको भूमिकामा राख्दै प्रतिनिधिसभा सदस्य समेत रहेका एलपी साँवा लिम्बुलाई अध्यक्ष बनाइएको हो । नेकपा विभाजनपछि तत्कालीन केपी शर्मा ओली पक्षले एल पि सावाँ लिम्बुको सम्योजकत्वमा ८५१ केन्द्रिय सदस्य पुनर्गठन गरेको थियो । महासंघका इन्चार्ज लेखराज भट्टको उपस्थितिमा बसेको बैठकले लिम्बुको अध्यक्षतामा १२ जना पदाधिकरी चयन गरेको छ ।

२७ जना पदाधिकारी रहने ब्यबस्था गरिएकोमा हाललाई १२ जना पदाधिकारीहरु वरिष्ठ उपाध्यक्षमा भीमलाल पौडेल, उपाध्यक्ष परशुराम अधिकारी, डेकनाथ गौतम, ऋषिराम खरेल,डिबि बस्नेत छन् ।

त्यस्तै महासचिव भगीरथ सापकोटा चयन भएका छन् भने सचिवहरुमा खोपनिधि लोहनी, गोपाल खनाल र निरज राई छन् । संगठनको कोषाध्यक्षमा बालकृष्ण शिवाकोटी र सहकोषाध्यक्षमा शंकर नेपाल चयन भएका छन् ।

बैठकले ११०० केन्द्रीय परिषद, २५१ सदस्यको केन्द्रीय कमिटी, १०१ सदस्यीय स्थायी कमिटी गठन गर्ने निर्णय समेत गरेको अध्यक्ष लिम्बुले जानकारी दिनु भयो । भूगोल, कर्पोरेट र वस्तुगत संघहरुको अलग कमिटी समेत गठन गरि सबैको प्रतिनिधित्व गराउने तयारीमा रहेको अध्यक्ष लिम्बुले बताउनु भयो ।


प्रकाशित | ८ आश्विन २०७८, शुक्रबार १४:३३