एनआरएनए ओशिनिया क्षेत्रीय सहसंयोजकमा न्यूजील्याण्डबाट रामराज ओलीको उम्मेदवारी

न्यूजील्याण्ड – गैर आवासीय नेपाली संघ (एनआरएनए) ओशिनिया क्षेत्रीय सहसंयोजकमा न्यूजील्याण्डबाट रामराज ओलीले उम्मेदवारी घोषणा गर्नु भएको छ । ओलीले आगामी कार्यकाल सन् २०२१-२०२३ को लागि सहसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

एनसिसी न्यूजील्याण्डमा स्थापनाकालदेखि नै सक्रिय रहँदै आउनु भएको ओलीले सन् २०१७-२०१९ मा महासचिव भएर जिम्मेवारी निर्वाह गर्नु भएको थियो । ओलीले अग्रज तथा अभियन्ताहरुसँगको सरसल्लाह तथा सुझावअनुसार क्षेत्रीय सहसंयोजक (डिआरसी) पदमा उम्मेदवारी दिने निर्णय गरेको बताउनु भयो ।

नेपालको दोलखा जिल्लामा जन्मिनु भएको ओली पछि बसाई सरेर चितवनबासी हुनुुहुन्छ । लामो समयदेखि न्यूजील्याण्डमा बस्दै आउनु भएको ओलीले विदेशमा रहेर पनि मातृभूमि र आफ्नो गृहजिल्लाको लागि ठूलो योगदान गर्नु भएको छ । उहाँले भूकम्पमा होस वा अन्य कुनै पनि प्राकृतिक विपत्तिमा आफ्नो सहयोगी हात सदैव फैलाउँदै आउनु भएको छ ।

गैर आवासीय नेपाली संघ नेपाल बाहिरको नेपाल भएको बताउँदै ओलीले भन्नु भयो, ‘जहाँ हामी एक अर्कालाई सहयोग गर्छौं, विचारको आदान प्रदान गर्छौं, रचनात्मक सल्लाह र सुझाव, बिचारको चिन्तन मनन र मंथन गरेर समुदायको भलाई, नेपालीको हक हित र प्रतिष्ठाको लागि एकजूट भएर अगाडि बढ्ने संस्था हो। नेपालीको लागि नेपाली, एक पटकको नेपाली सधैंको लागि नेपाली जस्ता मनछुने पवित्र उद्देश्य लिएर अगाडि आएको यो सामाजिक संस्थालाई कसैले दिग्भ्रमित पार्नु हुन्न भन्ने हाम्रो आवाजमा आवाज मिलाउनु मेरो उम्मेदवारी हो।’

‘भगवान बुद्धको शान्तिको सन्देश, सगरमाथाको आकास छुने चुचुरो, मनमोहक बनाउने अनगिन्ति हिमशृंखलाहरु, सत्रुहरुको अगाडि कहिल्यै नझुक्ने वीर गोर्खालीहरुका शीरहरुले संसारको जुनसुकै कुनामा बसे पनि हामी नेपालीको गर्व गाथा कहिल्यै बिर्सदैनौं, स्वाभिमान हाम्रो आदर्श हो, वीरता हाम्रो पहिचान हो’, उहाँले थप्दै भन्नु भएको छ, ‘तसर्थ यो पहिचान र आदर्शको हाम्रो ईतिहासलाई विश्व सामु प्रस्तुत गरेर नेपालको स्वाभिमानलाई अझै ज्वाजल्यमान बनाउन गैर आवासीय नेपाली संघले धेरै रचनात्मक योजनाहरु पहिल्याई अगाडि बढाउनुपर्छ भन्ने मेरो मान्यता हो। त्यही मान्यतालाई शिरोधार्य गर्दै यसपालीको ओशिनियाको लागि उपसंयोजकको उम्मेदवारको रूपमा मैले आफुलाई उभ्याउने जमर्को गरेको छु।’

यस्ता छन् ओलीका प्रतिबद्धताहरु

१. ओसेनिया क्षेत्रमा सन २००३ देखि गैर आवासीय नेपाली संघमा योगदान दिंदै आउनु भएका सवै आदरणीय अग्रजहरुलाई सम्मान गर्दै नयाँ र उत्साहित अभियन्ताहरुलाई हौसला दिदै संस्थालाई अगाडि बढाउने।

. ओसेनिया क्षेत्र पर्यटनको श्रोतको रूपमा विकास गर्न अष्ट्रेलिया, न्युजिल्याण्ड, फिजि, टाहिटी लगायतले अवलम्बन गरेका पर्यटन(मैत्री नीतिहरुको अध्ययन गरेर नेपालका नीति(निर्मातहरुलाई आवश्यक सल्लाह सुझावहरु उपलव्ध गराउने।

. सर एडमण्ड हिलारीको नाममा नेपाली पेगोडा शैलीमा यौटा आकर्षक केन्द्र बनाउन पहल गर्ने

.ओसेनिया को ३ वटा देशहरुमा सिमित गैर आवासीय नेपाली संघलाई संभव भए जति अरु देशहरुमा विस्तार गर्ने।


प्रकाशित | ३ आश्विन २०७८, आईतवार ११:०१