एनआरएनए निर्वाचन: क्षेत्रमा पनि उल्लेख्य आकांक्षी, केन्द्रकै हाराहारीमा उम्मेदवारी घोषणा

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन नजिकिंदै जाँदा क्षेत्रीयस्तरमा पनि उम्मेदवारहरुको नामावली लगभग तयार भएको छ । संघका अमेरिकाज्, अफ्रिका, यूरोप, मध्यपूर्व, एसिया प्याशिफिक र ओशिनिया गरि ६ वटा क्षेत्रहरुमा पनि उम्मेदवारहरुको लर्को लाग्न थालेको हो । केन्द्रमा जस्तै ६ वटा क्षेत्रमा क्षेत्रीय संयोजक, उपसंयोजक, महिला र युवा संयोजक तथा उपसंयोजक पदमा निर्वाचन हुँदैछन् ।

केन्द्रका लागि चार दर्जन बढीले उम्मेदवारी घोषणा गरिरहँदा क्षेत्रीय स्तरमा पनि हालसम्म उत्तीकै मात्रामा उम्मेदवारी घोषणा भइरहेका छन् । संघको चुनाव आगामी अक्टोवर २३ देखि २५ तारिखमा हुन गइरहेको हो ।

सबैभन्दा धेरै एनसिसी रहेको यूरोपमा दर्जन बढीले उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्रीय संयोजकमा हालसम्म क्षेत्रीय उपसंयोजक कृष्ण तिमिल्सिना, शुक्रराज न्यौपानेले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ भने पूर्व क्षेत्रीय उपसंयोजक एकराज गिरी, वर्तमान क्षेत्रीय उपसंयोजक मुक्त गुरुङ, स्पेनका पूर्व अध्यक्ष चिन्तामणि सापकोटा पनि सोही पदमा आकांक्षी देखिनु भएको छ ।

त्यस्तै, क्षेत्रीय उपसंयोजकमा यूकेबाट आइसिसी सदस्य दयानिधी सापकोटा र ललित कुमार न्यौपाने, आयरल्याण्डबाट सागर लामाले उम्मेदवारी घोषणा गर्नु भएको छ ।

त्यस्तैगरि, महिला संयोजकमा नेदरल्याण्ड्सबाट वर्षा खड्का र युवा संयोजकमा डेनमार्कबाट रमेश काफ्ले, पोर्चुगलबाट रोवोट लिम्बु र नर्वेबाट किरण गुरुङले उम्मेदवारी घोषणा गर्नु भएको छ ।

उता अमेरिकाज् क्षेत्रीय संयोजकमा ६ जनाले उम्मेदवारी घोषणा गर्नु भएको छ । हालसम्म पूर्व क्षेत्रीय सहसंयोजक नवीन शेरचन, वर्तमान क्षेत्रीय सहसंयोजक रामसी पोखरेल, आइसिसी सदस्यहरु प्रमोद सिटौला र प्रकाश सापकोटा, एनसिसी अमेरिकाका पूर्व महासचिव कृष्ण पोखरेल र निवर्तमान महासचिव पशुपति पाण्डेले उम्मेदवारी घोषणा गर्नु भएको छ । यद्यपी क्षेत्रीय सहसंयोजकमा भने हालसम्म कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन् ।

अमेरिकाज् क्षेत्रको महिला संयोजकमा यमुना भट्टराई, युवा संयोजकमा स्वराज खाती र बिनोद रुवालीले उम्मेदवारी घोषणा गर्नु भएको छ ।

त्यस्तै, ओशिनिया क्षेत्रबाट क्षेत्रीय संयोजकमा क्षेत्रीय सहसंयोजक नवीन कँडेल, अष्ट्रेलियाबाट आइसिसी सदस्य अरुण कुमार ठाकुर र दीपक शर्मा, एनसिसी न्यूजील्याण्डका निवर्तमान अध्यक्ष लाल केसी र अष्ट्रेलियायाबाट केशव प्रसाद सापकोटाले उम्मेदवारी घोषणा गर्नु भएको छ । ओशिनियाको क्षेत्रीय सहसंयोजक, युवा तथा महिलाको पदमा भने हालसम्म कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन ।

त्यस्तैगरि, एसिया प्याशिफिक क्षेत्रको क्षेत्रीय संयोजकमा कोरियाबाट पूर्व क्षेत्रीय उपसंयोजक विनोद कुँवर र जापानबाट वर्तमान क्षेत्रीय उपसंयोजक पारसमणी पोखरेलले उम्मेदवारी घोषणा गर्नु भएको छ ।

क्षेत्रीय उपसंयोजकमा चीनबाट आइसिसी सदस्य नवीन विक, हङकङबाट आइसिसी सदस्य दिलीपसिंह गुरुङ, मलेसियाबाट आइसिसी सदस्य विश्व राई, जापानबाट आइसिसी सदस्य ददिवल खडकाले उम्मेदवारी घोषणा गर्नु भएको छ भने एनसिसी कोरियाका निवर्तमान अध्यक्ष यज्ञराज सुवेदी र मलेसियाका निवर्तमान अध्यक्ष हरि भट्टराई पनि सोही पदमा आकांक्षी देखिनु भएको छ ।

एसिया प्यासिफिकको क्षेत्रीय युवा संयोजकमा वर्तमान युवा संयोजक रहनु भएको दीपक कँडेलले पुनः सोही पदमा उम्मेदवारी घोषण गर्नु भएको छ भने महिला संयोजकमा एनसिसी मकाउकी निवर्तमान अध्यक्ष शान्तिदेवी अधिकारी आंकाक्षी देखिनु भएको छ ।

उता मध्यपूर्व क्षेत्रीय संयोजकमा हालसम्म कसैले पनि उम्मेदवारी घोषणा नगरे पनि वर्तमान क्षेत्रीय सहसंयोजक राजेन्द्र अर्याल (जोन) सो पदमा आकांक्षी देखिनु भएको छ ।

त्यस्तै, क्षेत्रीय उपसंयोजकमा बहराईनबाट आइसिसी सदस्य लाल बहादुर पुन, कतारबाट आइसिसी सदस्य रमेश भट्ट र यूएईबाट बालकृष्ण मरासिनीले उम्मेदवारी घोषण गर्नु भएको छ ।

युवा संयोजकमा कतारबाट आइसिसी सदस्य रहनु भएको अब्दुल वासिदले उम्मेदवारी घोषणा गर्नु भएको छ भने महिला पदमा भने कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन् ।

उता अफ्रिकाबाट पनि हालसम्म क्षेत्रीय पदमा कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन् । अफ्रिकाको विगतको नजिर हेर्दा प्राय सबै पदमा निर्विरोध हुँदै आएको छ ।

संघको विधान अनुसार विभिन्न ६ वटा क्षेत्रमा १ /१ जना क्षेत्रीय संयोजक गरि ६ जना, क्षेत्रीय उपसंयोजक कम्तिमा ६, क्षेत्रीय महिला संयोजक र महिला उपसंयोजक ६/६ र युवा संयोजक र युवा उपसंयोजकमा ६/६ जनाको निर्वाचन हुनेछ ।

विधानमा उल्लेख भएबमोजीम एसिया, यूरोप, मध्यपूर्व, उत्तरदक्षिण अमेरिका, अफ्रिका तथा ओसेनिया प्रत्येक क्षेत्रबाट एक जना क्षेत्रिय संयोजक र एक क्षेत्रिय उपसंयोजक निर्वाचित हुनेछन ।

राष्ट्रिय समन्वय परिषद्हरुको संख्या १० सम्म भएमा १ जना, १० भन्दा बढी २० सम्म भएमा थप १ जना आदिको क्रमले वा पञ्जीकृत सदस्य संख्या १५ हजार सम्म भएमा प्रत्येक १५ हजार सदस्य बराबर १ जना क्षेत्रीय उपसंयोजक निर्वाचित हुनेछन् ।

त्यस्तैगरि, विधामा उल्लेख भएअनुसार क्षेत्रीय संयोजक एउटै देशबाट लगातार २ पटक भन्दा बढी निर्वाचित हुन अयोग्य मानिनेछ । तर अन्य देशबाट उम्मेदवारी नपरेमा यो प्रावधान लागू नहुने र विधान लागू हुनु भन्दा अगाडि निर्वाचित क्षेत्रीय संयोजकहरुका लागि यो प्रयोजनका लागि गणना नहुने उल्लेख छ ।


प्रकाशित | ८ भाद्र २०७८, मंगलवार १९:०१