एनआरएनए आइसिसी महिला संयोजकमा जुनु गुरुङको उम्मेदवारी घोषणा

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को महिला संयोजक पदमा कोरियाबाट जुनु गुरुङले उम्मेदवारी घोषणा गर्नु भएको छ । आगामी अक्टोवर २३ देखि २५ तारिखमा काठमाडौंमा हुन लागिरहेको एनआरएनएको १० औं विश्व सम्मेलनमा गुरुङले आइसिसी महिला संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

संघको अघिल्लो नवौ विश्व महाधिवेशनमा पनि महिला संयोजकको प्रत्यासी रहनु भएको गुरुङ यो पटक पुन: सोही पदमा लड्न लाग्नु भएको हो । सन् २०१७ -०१९ मा एसिया प्याशिफिक महिला फोरम संयोजक रहनु भएको गुरुङले विश्वभरिका अग्रज महिला दिदी बहिनी तथा अग्रज एनआरएन अभियन्ताको सल्लाह र सुझाव अनुसार आइसिसी महिला संयोजकमा उम्मेदवारी दिने निर्णय गरेको बताउनुभयो ।

यसअघि एसियाका धेरै देशमा महिला फोरम अभियानलाई सफल बनाएको बताउँदै उहाँले अब विश्वभरी महिलाहरुको सञ्जाललाई विस्तार गर्नु आफनो मुख्य एजेन्डा हुने उल्लेख गर्नुभयो ।

एनआरएएन भनेको सबैको साझा संस्था भएको बताउँदै संस्थालाई गतिशिल र सबैको अपनत्व हुने गरि अगाडि बढाउन सबै क्षेत्रको प्रतिनिधित्व समेत सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । सबै महिला दिदीबहिनीहरुको अवस्था एकै नभएको भन्दै मध्यपूर्वमा रहनु भएका महिलाहरुको आवाजलाई पहिलो प्राथमिकता दिएर अगाडि बढ्ने बताउनु भयो ।

त्यस्तै, गुरुङले आइसिसी महिला फोरमले अगाडि सारेका राम्रा कार्य र महिलाहरुका मुद्दालाई निरन्तरता दिने र फन्ट्र कलेक्सनमा विशेष जोड दिदैँ महिलाहरुका शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा कार्य गर्ने बताउनुभयो ।


प्रकाशित | ४ भाद्र २०७८, शुक्रबार १९:३४