एकताको सबै ढोका बन्द भएकाले एमाले पुनर्गठन गर्ने अवस्थामा पुग्यो : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकताको सबै ढोका बन्द भएकाले पार्टी पुनर्गठन गर्ने अवस्थामा आफूहरू पुगेको बताउनु भएको छ ।

मंगलबार अनेरास्ववियू र अखिल नेपाल किसान महासङ्घले गरेको जुम अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी पुनर्गठन गर्ने अवस्थामा पुगेको बताउनु भएको हो ।

नेपालले अहिले अरू पार्टीसँग सहकार्य गर्ने सम्भावना नरहेको बताउँदै वामपन्थी शक्तिहरूलाई समेटेर अगाडि बढ्ने बताउनु भयो ।

ओली प्रवृत्तिका विरुद्ध विद्रोहको झण्डा उचाल्न आवश्यक रहेकोमा जोड दिर्दै नेता नेताले एमालेलाई ओलीले आफ्नो प्राइभेट कम्पनी बनाउन खोजेपछि आफ्नो समूहले विद्रोह गरेको बताउनु भयो ।

उहाँले अहिले पार्टीमा दुई नेता बिचको लडाई नभएर दुई बिचार समूहको लडाई भएको पनि बताउनु भयो । केपी ओलीमा व्यक्तिवादको विकास भएको, कम्युनिस्ट आचरण नभएकाले विद्रोह आवश्यक भएको उहाँले बताउनु भयो ।

नेपालले ओली सच्चिएर आए जहिले पनि एकता हुन सक्ने बताउनु भयो । आफूहरूले नयाँ पार्टी बनाएको अवस्थामा पनि ओली सच्चिएर आए एकताका लागि तयार रहने उहाँले बताउनु भयो । 


प्रकाशित | १ भाद्र २०७८, मंगलवार १८:४१