संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकता सम्बन्धी विधेयक तत्काल अघि बढाइने

काठमाडौं  – लामो समयदेखि संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकता सम्बन्धि विधेयक तत्काल अघि बढाइने भएको छ ।  कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकता सम्बन्धि विधेयक तत्काल अघि बढाइने प्रतिबद्धता जनाउनु भएको हो ।

एनआरएनए अध्यक्ष कुमार पन्त, संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछानेले आज विधेयकको विषयमा ध्यानर्कषण गराउनु भएसँगै कानून मन्त्री कार्कीले विधेयक अगाडि बढाउन पहल गर्ने बताउनु भयो ।

अध्यक्ष पन्तका अनुसार मन्त्री कार्कीले सकारात्मक प्रतिक्रिया जनाउँदै तत्काल विधेयक अगाडि बढाइने प्रतिबद्धता जनाउनु भएको हो ।

एनआरएनएको टोलीले गैर आवासीय नेपाली नागरिकता कानुनको विषयमा यसअघि प्रधानमन्त्री शेर बहादुर देउवा, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललगायतसँग भेट गरि कार्यान्वयनका लागि ध्यानाकर्षण गराइरहेको छ ।

संसदको राज्य ब्यवस्था तथा सुशासन समितिले पारित गरि नागरिकता सम्बन्धी विधेयक संसदमा पठाए पनि अझै विधेयक अगाडि बढेको छैन ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरे पनि सर्वोच्च अदालतले सो अध्यादेश कार्यान्वयन नगर्न आदेश दिएको थियो । यद्यपी सो अध्यादेशमा एनआरएन नागरिकताको विषय उल्लेख थिएन ।

नेपालको संसद बारम्बार विघटन भइरहनु र राजनीतिक दलहरुमा नागरिकता सम्बन्धी विवादका कारण सो विधेयक अलपत्र परिरहेको छ ।


प्रकाशित | ३० श्रावण २०७८, शनिबार २१:४७