सियाटलमा आयोजित घुम्ती कन्सुलर सेवा शिविर सम्पन्न

न्यूयोर्क – अमेरिकास्थित वासिङ्गटन स्टेटको सियाटलमा आयोजित घुम्ती कन्सुलर सेवा शिविर सम्पन्न भएको छ । नेपाली राजदूतावास वाशिङ्गटन डि.सी. र नेपाली महावाणिज्यदूतावास सियाटनले संयुक्त रुपमा घुम्ती कन्सुलर सेवा शिविर आयोजना गरेको हो ।

नेपाली राजदूतावास र सेभेन समिट फाउन्डेसनको संयुक्त सहयोगमा भएको शिविरमा पासपोर्ट नविकरण, नयाँ आवेदन, मंजुरीनामा, एनआरएनए कार्ड, वारेसनामा, भिसा, ट्राभल डकुमेन्ट लगायतको सेवा प्रवाह गरिएको थियो । 

अफिसबाट नियमित रुपमा कन्सुलर सेवा प्रदान गरिने भएता पनि केहि थप सेवा सहित विशेष घुम्ती सेवा संचालन गरिएको महावाणिज्यदूत एसी  शेर्पाले बताउनु भयो ।

कतिपय सेवाहरु वासिङ्गटन डिसीबाट मात्र प्रदान गरिनेमा यो पटक राजदूत डा. युवाराज खतिवडा स्वयं उपस्थित रहनु भएकाले सबैजसो सेवा घुम्ती सेवामा प्रदान गरिएको थियो । 

शिविरबाट विभिन्न कारण पासपोर्ट नविकरण नभएका, भिसा सकिएकाहरु लगायत लाभान्वित बनेका थिए । 

ब्रेनगेन कार्यक्रम सम्पन्न

सोही अवसरमा नेपाली राजदूतावास वाशिङ्गटन डि.सी. र नेपाली महावाणिज्यदूतावास सियाटनको संयुक्त आयोजनामा सियाटलमा ब्रेनगेन कार्यक्रम सम्पन्न भएको छ । नेपाली राजदूतावास र सेभेन समिट फाउन्डेसनको संयुक्त सहयोगमा भएको सो कार्यक्रम पहिलो पटक आयोजना गरिएको हो ।

ब्रेनग्रेन कार्यक्रम गैर आवासीय नेपाली संघका सल्लाहकार तथा अमेरिकास्थित वासिङ्गटन स्टेटको सियाटलका लागि नेपाल सरकारका महावाणिज्यदूत एसी शेर्पाको अवधारणमा भएको हो ।

सो अवसरमा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले नेपालमा अवसरको सिर्जना गर्नु अहिलेको तड्कारो आवश्यकता रहेको बताउनु भयो । राजदूत खतिवडाले नेपालमा भाषणभन्दा अवसरको खाँचो रहेकाले सोही अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनु भयो ।

डा. खतिवडाले सबै क्षेत्रहरु आइटी बेसमा अगाडि बढेको खण्डमा अवसरको सिर्जना ठूलो कुरा नभएको बताउनु भयो । जसको लागि सरकार मातहतका निकायहरु पनि जागरुक बन्नुपर्ने उहाँले सुझाव दिनु भयो ।

कार्यक्रममा एनआरएनए पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले कोरोना महामारीको बीचमा ब्रेनगेन कार्यक्रम आयोजना गर्नु खुसीको विषय भएको बताउँदै ब्रेनगेन कार्यक्रममा दिइएका सुझावहरुलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो ।

ब्रेनगेन कार्यक्रममा उठेका विषयलाई सरकारले पोलीसीका रुपमा अगाडि बढाउँदै यसलाई फराकिलो ढंगबाट अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो । 

नेपाल पर्यटन बोर्डका सिइओ डा. धनञ्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रको प्रबद्र्धनका लागि मध्य पहाडी भूगागको विकास गर्न आवश्यक रहेकोमा जोड दिनु भयो । नेपालमा नयाँ नयाँ पर्यटकीय क्षेत्रहरुको पहिचान गर्दै बाह्रय पर्यटकलाई आर्कषीत गर्नुपर्नेमा पनि उहाँले जोड दिनु भयो ।

एनआरएनए नेपाल डेभलपमेन्ट फ्रन्टका प्रमुख अनलराज भट्टराईले एनआरएनको दोस्रो विश्व सम्मेलनले १ सय मिलियन डलरको अवधारण ल्याएको बताउँदै तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाको पहलमा सन् २०१९ को ईन्भेष्टमेन्ट समिटमा १० अर्बको एनआरएन फ्रन्टको प्रक्रिया अगाडि बढाइएको बताउनु भयो ।

उहाँले अहिले कम्पनी दर्तासँगै बोर्ड गठन भएर प्रक्रिया अगाडि बढाइएको बताउँदै १० अर्बको फ्रन्ट केहि समयमै ५० अर्बको पुर्याइने योजना रहेको पनि जानकारी दिनु भयो । हालसम्म ४ अर्ब बढीको प्रतिबद्धता आइसकेको र रकम आउने क्रम पनि शूरु भएको उहाँले बताउनु भयो ।

कार्यक्रममा महावाणिज्यदूत एसी शेर्पाले नेपालको पर्यटन र व्यापार तथा विदेशी ज्ञान, सिप र प्रविधि हस्तान्तरणका लागि  ब्रेन गेन कार्यक्रम प्रभावकारी हुने विश्वास ब्यक्त गर्नु भयो ।

ब्रेनग्रेन कार्यक्रमका संयोजक मिङ्ग्मार तामाङको प्रस्तुतिबाट सुरु भएको कार्यक्रममा मिस यूनिभर्स नेपालीकी नग्मा श्रेष्ठ, डा आर्या रजौरियाले भनाई राख्नु भएको थियो ।

ब्रेनगेन नेपाल कार्यक्रममा मुख्य पाँच मुल मन्त्रलाई आधार मानेर आयोजना गरिएको हो । विशेष गरि विदेशमा सिकेको ज्ञान, सिप र प्रविधिलाई नेपालमा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित कार्यक्रम नेपालको आर्थिक सम्मृद्धिमा कोशेढुंगा शावित हुने विश्वास गरिएको छ ।

महावाणिज्यदूत एसी शेर्पाले नेपालको पर्यटन तथा ब्यापार प्रबद्र्धनका लागि यसअघि पनि बिजनेश कोलाबरेशन कार्यक्रम आयोजना गर्नु भएको थियो ।


प्रकाशित | २७ श्रावण २०७८, बुधबार २२:४६