एनआरएनएका ६० वटा एनसिसीको निर्वाचन सकियो, अधिकांशमा निर्विरोध, २० वटा भने निस्कृय

काठमाडौं – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसिसी) हरुको निर्वाचन सम्पन्न भएको छ । अन्तराष्ट्रिय समन्वय परिषद् (आइसिसी) ले तोकेको समयसीमाभित्र अधिकांश एनसिसीहरुको निर्वाचन सम्पन्न भएको हो ।

संघका महासचिव डा. हेम राज शर्माका अनुसार ४ वटा बाहेक सबै एनसिसीहरुको निर्वाचन सम्पन्न भएको छ । एनसिसी डेनमार्कको निर्वाचन अगष्ट ७, एनसिसी पोर्चुगलमा केही क्षेत्रमा स्थगित भएको निर्वाचन अगष्ट ८, एनसिसी स्लोभेनियाको निर्वाचन अगष्ट १४ तारिखमा हुदैछ। उता एनसिसी युएईको निर्वाचन प्रकृया शुरु हुन बाँकि छ ।

ती बाहेक बाँकि सम्पूर्ण एनसिसिको निर्वाचन सम्पन्न भइसकेको महासचिव शर्माले बताउनु भयो। निर्वाचन सम्पन्न भएकामध्ये अधिकांश एनसिसिमा निर्विरोध निर्वाचन भएको छ ।

महासचिव शर्माका अनुसार ४२ वटा देशमा निर्विरोध, ११ वटामा अनलाईन र ७ वटामा भौतीक निर्वाचन भएको छ । यूकेको भने निर्वाचन मंंगलबार सम्पन्न भएपनि नतिजा बिहीबार मात्र सार्वजनिक हुँदैछ । ८५ वटा देशमा शाखा विस्तार भएको भनीए पनि २० वटा एनसिसीहरु भने निस्कृय भएको पाइएको छ ।

त्यस्तै, आगामी अक्टोबरमा हुने अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको निर्वाचनको लागि एनसिसिहरुले अगष्ट १५ सम्म प्रतिनिधी पठाइसक्नुपर्ने महासचिव शर्माले बताउनु भयो ।


प्रकाशित | २० श्रावण २०७८, बुधबार ०८:५८