एनआरएनए अमेरिकाको २५ प्रतिशत प्रतिनिधिको विवाद टुंगीयो

न्यूर्योक- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाबाट आगामी विश्व सम्मेलनमा भाग लिने २५ प्रतिशत प्रतिनिधिको विषयमा सहमति जुटेको छ । अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठीको पहलमा भएको सर्वपक्षीय बैठकले २५ प्रतिशत प्रतिनिधिको विषयमा सहमति जुटाएको हो ।

अमेरिकाज् क्षेत्रीय संयोजक त्रिपाठीका अनुसार बैठकले प्रतिनिधि टुग्याउन एनसिसी अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थको संयोजकत्वमा एक समिति बनाउने सहमति गरेको छ ।

सो समितिले आइसिसीको विधान अनुसार अमेरिकाका २९ राज्य च्याप्टरका अध्यक्ष अथवा च्याप्टरले सिफारिस गरेका प्रतिनिधिलाई समेट्ने र बाँकि सहमतिको आधारमा प्रक्रियागत रुपमा छान्नेछ ।

बैठकले २९ राज्य च्याप्टरबाट २९ जना छान्ने र बाँकि १८ जना प्रतिनिधि टुग्याउन प्रक्रियागत रुपमा अगाडि बढ्ने सहमति गरेको संयोजक त्रिपाठीले जानकारी दिनु भयो ।

सो समितिले अध्यक्षका प्रत्यासीहरु कृष्ण लामिछाने, डा. अर्जुन बञ्जाडे र तिलक केसीसँग छलफल गदैँ आइसिसीको विधानमा टेकेर प्रतिनिधि टुंग्याउनेछ ।

अन्तराष्ट्रिय महाधिवेशनको लागि अमेरिकाबाट पञ्जीकृत सदस्यका आधारमा पर्ने कुल प्रतिनिधि संख्याको २५ प्रतिशत अर्थात ४७ जना प्रतिनिधिहरु हुन्छन् । आइसिसीको विधान अनुसार २५ प्रतिशत खुला रुपमा निर्वाचनको माध्यममार्फत प्रतिनिधि चयन गर्नुपर्छ ।

जुम बैठकमा आइसिसी उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा, सचिव गौरी राज जोशी, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजक राम पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा कार्की र एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी सहभागि हुनुुहन्थ्यो ।


प्रकाशित | १६ श्रावण २०७८, शनिबार १२:०१