एनआरएनए आयरल्याण्डमा बिनोद कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सूचीसहित)

आयरल्याण्ड । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद आयरल्यान्डको अध्यक्षमा बिनोद कार्की निर्विरोध निर्वाचित हुनु भएको छ । आगामी कार्यकालको लागि कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । संघको आइसिसी सदस्यमा जंग बहादुर अधिकारी पनि निर्विरोध निर्वाचित हुनु भएको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा ओम अधिकारी र सुमन गुरुङ, महिला उपाध्यक्षमा सिर्जना गोले तामाङ, महासचिवमा रवी बोगटी, सचिवमा प्रकाश लामा, कोषाध्यक्षमा पुस्कर बोमञ्जन, सहकोषाध्यक्षमा निशान्त शर्मा, महिला संयोजकमा करुणा थापा, युवा संयोजकमा विजय कुमार बुढाथोकी निर्विरोध हुनु भएको छ ।

त्यस्तैगरि, कार्यसमिति सदस्यहरुमा सन्तोष शर्मा, दलाराम तामाङ, यम बहादुर उप्रेत्ति, सुनीता बलामी, चिन्तामणी सापकोटा र कृष्ण जिसी निर्विरोध निर्वाचित हुनु भएको हो ।

एनआरएनए आयरल्याण्डको साधारण सभा जुममार्फत यही २६ जुलाईमा हुँदैछ । सोही दिन नयाँ कार्यसमितिको घोषणा तथा नेतृत्व हस्तान्तरण गर्ने कार्यक्रम छ ।

यस्तो छ नयाँ कार्यसमिति

अध्यक्ष – बिनोद कार्की

उपाध्यक्ष

-ओम अधिकारी

-सुमन गुरुङ

महिला उपाध्यक्ष – सिर्जना गोले तामाङ

महासचिव -रवी बोगटी

सचिव– प्रकाश लामा

कोषाध्यक्ष- पुस्कर बोमञ्जन

सह-कोषाध्यक्ष – निशान्त शर्मा

महिला संयोजक -करुणा थापा

युवा संयोजक– विजय कुमार बुढाथोकी

सदस्यहरु

-सन्तोष शर्मा

-दलाराम तामाङ

-यम बहादुर उप्रेत्ति

-सुनीता बलामी

-चिन्तामणी सापकोटा

-कृष्ण जिसी

को हुन अध्यक्षमा निर्वाचित कार्की ?

पृष्ठभुमी

दोलखाको मेलुङ गांउपालिका वडा नं २ घ्याङसुकरठोकरमा जन्मनु भएका विनोद बुबा कृष्ण बहादुर र आमा राधा कार्कीको एक्लो सन्तानका रुपमा जन्मनु भएको हो । बाल्यकाल सुखद् नै बिताउनु भएको कार्की सानैदेखि मिहिनेती, अध्ययनशील हुनुहुन्थ्यो । कार्कीले उच्च शिक्षा काठमाडौंबाट गर्नु भयो ।

विदेश प्रस्थान

आफुले कलेजमा अध्ययन गरिरहदाँ नेपालको तत्कालीन अवस्था निकै नाजुक थियो । राजनीतिक अस्थिरता, अवसरबिहिन अवस्थाकै कारण ब्याचलर पश्चात आफ्नो भविष्य सुनौलो बनाउन सन् २००१ मा उहाँ विदेश तर्फ प्रस्थान गर्नु भयो । कार्की हालसम्म पनि आयरल्याण्डलाई नै कर्मथलो बनाएर बस्नु भएको छ ।

आयरल्याण्डमा बसोबास

विनोद कार्कीले आयरल्याण्डमा बसाईसँगै होटल व्यवसायमा हात हाल्नु भयो र लामो समय सोही क्षेत्रमा आवद्ध भइरहनु भएको छ ।  सन् २००२ सेक्टेम्बरमा उहाँ आयरल्याण्ड पुग्दा गैर आवासीय नेपालीहरुको साझा संगठन स्थापित भइसकेको थिएन । तत्कालीन अवस्थामा आयरल्याण्डमा निकै थोरै नेपालीहरुको बसोबास रहेको थियो । उहाँ भन्नुहुन्छ,‘गनेरै मान्छे चिन्न सक्ने नेपाली थिए ।’ जे होस् आयरल्याण्डमा रहेका नेपालीहरु एकढिक्का हुनुपर्छ भन्ने भावना पलायो र त्यसैको फलस्वरुप नेपाल आयरल्याण्ड सोसाइटी गठन भयो । सो समयमा पटक पटक आयरल्याण्ड सोसाइटीको जिम्मेवारीमा रहेर उहाँले भूमिका निर्वाह गर्नु भयो । उहाँले आयरल्याण्डमा भएका नेपालीहरुलाई एकत्रित बनाउन, नेपालको रीतिरिवाज तथा संस्कृती जोगाउन सोसाइटीमा रहदा उहाँले निकै नै महत्वपूर्ण भूमिका निभाउनु भएको थियो ।

एनआरएनएमा प्रवेश

विश्वका विभिन्न देशहरुमा गैर आवासीय नेपालीहरुको साझा संगठन एनआरएनएको संजाल विस्तार भइरहँदा आयरल्याण्डमा पनि एनआरएनए स्थापना गर्नु पर्छ भन्ने महशुस गरियो र विनोद कार्की सहित केही अगुवाहरुको प्रयासबाट सन् २००७ मा एनआरएनए आयरल्याण्ड स्थापित भयो । संस्था गठन भइसकेपश्चात उहाँले उपाध्यक्षको भूमिका निभाउनु भयो । सो समयमा ७ जनाको समूहले समिति बनाएर एनआरएनए आयरल्याण्ड स्थापना गरेको उहाँ सम्झनु हुन्छ । आफु संस्थापक उपाध्यक्ष भएपनि उहाँले कहिल्यै पनि नेतृत्वका लागि हतार गर्नु भएन ।

आफु सधै पछाडि बसेर एनआरएनए आयरल्याण्डलाई अगाडि बढाउन उहाँ निरन्तर लागि पर्नु भयो । एनआरएनए आयरल्याण्डको जुनसुकै पदमा रहँदा वा नरहँदा उहाँले निस्वार्थ रुपले काम गरिरहनु भयो । चाहे त्यो आयरल्याण्डमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न होस् वा नेपालमा आइपर्ने विभिन्न विपद्हरुमा होस्, उहाँ कुनै स्वार्थबिना सेवा भावमा लागिरहनु भयो ।

सोही सिलसिलामा विनोद कार्की सन् २०१७ देखी सन् २०१९ को कार्यकालमा एनआरएनए आयरल्याण्डको सल्लाहकारको रुपमा उभिनु भयो । संस्था स्थापनाकाल देखीनै सक्रिय रुपमा लागिपर्नु भएका कार्की सन् २०१९ देखि २०२१ कार्यकालमा भने आईसिसी सदस्यमा रहेर जिम्मेवारी निर्वाह गर्नु भयो । एनआरएनए आयरल्याण्डलाई नजिकबाट बुझेको कारण उहाँले एनआरएनएको माथिल्लो पदमा जाने भन्दा एक पटक एनसिसी आयरल्याण्डमा नेतृत्व गर्ने इच्छा अनुसार आगामी दुई वर्षे कार्यकालको लागि कार्की अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भयो । कार्की आइसिसी सदस्यमा पनि निर्विरोध हुनु भएको थियो ।


प्रकाशित | ८ श्रावण २०७८, शुक्रबार ०७:४०