एनआरएनए हङकङद्धारा नेपालमा १ करोड़ ४६ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन

हङकङ । गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङले नेपालमा १ करोड़ ४६ लाख ४७ हज़ार ८६० रुपैयाँ बराबरको  स्वास्थ्य सामाग्री सहयोग गरेको छ । अध्यक्ष राधिका गुरूङ (टिका) र महासचिव गोकर्ण ढकालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्नुहुँदै सो रकम वरावरको स्वास्थ्य सामाग्री नेपालमा पठाउन सफल भएको बताउनु भएको हो ।

एनआरएन हङकङले १ सय ३० पिस अक्सिजन कन्सनट्रेटर मेसिन र १७ लाख १९ हजार पिस मास्क नेपाल पठाइएको  विज्ञप्तिमा उल्लेख छ । हङकङका विभिन्न संघ संस्था, व्यवसायी तथा महानुभावहरूको सहयोगमा कोभिड- १९ महामारीको दोस्रो लहर सँग जुध्न मातृभूमि नेपालको लागी “एक आक्सीजन कन्सन्ट्रेटर-दैनिक दुई जिवनदान”अभियान सञ्चालन गरेको थियो । नेपालमा कोभिड प्रभावितलाई सहयोग गर्नको लागि कोभिड–१९ नेपाल सहयोग कमिटी समेत गठन गरेको थियो । 

कमिटी संयोजकमा त्रिलोक गुरूङ, उप-संयोजक राधिका गुरूङ, कृष्ण पाण्डे (संस्थापक अध्यक्ष), दिलीप सिंह गुरूङ (आईसीसी सदस्य), डा. शार्मिला गुरूङ (भुपु आईसीसी सदस्य), ङासुराम पराजुली(आईसीसी सदस्य ) तथा सदस्यहरूमा दुर्गा बहादुर गुरूङ, (भुपु अध्यक्ष), ललित सुब्बा (निवर्तमान अध्यक्ष ),गोर्कण ढकाल महासचिव, विजय कुमार गुरूङ (प्रवक्ता) र अनु राई (महिला संयोजक) रहनु भएको थियो । 

एनआरएनए हङकङले बुधबार एक कार्यक्रमको अयोजना गर्दै सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन समेत गरेको छ । सो अभियान सफल पर्न सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरु तथा नेपाल सरकारको तर्फ बाट सम्बन्धित निकायमा सहजीकरण गर्ने नेपाली महावाणिज्यदुतवासप्रति धन्यवाद ज्ञापन गरिएको हो ।

 


प्रकाशित | ७ श्रावण २०७८, बिहीबार १४:३४