एनआरएनएको विश्व सम्मेलनमा भाग लिने प्रतिनिधिको नामावली आज राति १२ बजेभित्र पठाइसक्नुपर्ने

काठमाडौं –  गैर आवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा भाग लिने प्रतिनिधिको नामावली आज राति १२ बजेभित्र पठाइसक्नु पर्ने भएको छ । सबै एनसीसीहरुले एनसिसीको आधिकारिक इमेल मार्फत उक्त डेलिगेट लिस्ट राति १२ बजे भित्रमा सचिवालयमा पठाउन आग्रह गरिएको छ ।

गैर आवासीय नेपाली संघको विश्व सम्मेलन आगामी अक्टोवर २३, २४ र २५ तारिखमा हुँदैछ । त्यसको लागि निर्वाचनमा सहभागि हुने प्रतिनिधिहरुको नामावली पठाउने आज अन्तिम दिन हो । आज रातिसम्म प्राप्त प्रतिनिधिहरुको नामावलीको आधारमा निर्वाचनको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

यस्तो छ प्रतिनिधिको चयन प्रक्रिया

प्रत्येक १० जना पंजिकृत सदस्य बराबर एक जना (१०:१) को अनुपातमा प्रतिनिधि चयन गर्नु पर्ने छ । एक हजार भन्दा बढी पंजिकृत सदस्य भएमा प्रत्येक थप एक हजार सदस्यको लागि क्रमिक ४०:१,८०:१,१२०:१ संख्याको अनुपातमा गर्ने (विधानको दफा १३.७, अनुसूची ६) ।

२.  अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद्का वर्तमान र विगतमा काम गरिसकेका व्यक्तिहरुबाट प्राथमिकताको आधारमा ६५ प्रतिशत प्रतिनिधि चयन गर्ने (विधानको दफा १३.७ (ग)) ।

३.  २५ प्रतिशत प्रतिनिधि पंजिकृत सदस्यहरुबाट प्रत्यक्ष निर्वाचन गरी चयन गर्ने । बुँदा नम्बर २ मा उल्लेखित ६५ प्रतिशत प्रतिनिधिहरु नपुगेमा नपुग संख्या पनि निर्वाचनबाट चयन हुनु पर्नेछ (विधानको दफा १३.७ (क)) ।

  बाँकि १० प्रतिशत प्रतिनिधिहरु महिला, युवा सहित गैरआवासीय नेपाली अभियानमा उल्लेख्य योगदान गरेका व्यक्तिहरु मध्येबाट नवनिर्वाचित राष्ट्रिय समन्वय परिषद् चयन गर्ने (विधानको दफा १३.७ (ख)) ।


प्रकाशित | ३१ श्रावण २०७८, आईतवार ११:२८