जोन्सन एण्ड जोन्सन खोप लगाएका नेपालीले साउदी जान पाउने


दोहा । जोन्सन एण्ड जोन्सन खोप लगाएका नेपालीले साउदी जान पाउने भएका छन् । साउदी अरबले जोन्सन एण्ड जोन्सनको खोप लगाएका नेपाली श्रमिकहरुलाई प्रवेश अनुमति दिएको छ ।

साउदीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै घर बिदामा नेपाल गएर साउदी फर्किन लागेका र नेपालबाट साउदी अरब आउने नयाँ कामदारले जोन्सन एण्ड जोन्सनको खोप लिएर साउदी प्रवेश पाउने जनाएको छ ।

दूतावासका अनुसार खोप लगाएको १४ दिनपछि साउदीमा प्रवेश गर्दा त्यहाँ पुगेपछि संस्थागत क्वारेन्टिनमा बस्न नपर्ने जनाएको छ । घर बिदामा गएका वा नयाँले आफूलाई पायक पर्ने खोप केन्द्रमा खोप लगाउन दूतावासले अनुरोध गरेको छ ।

खोप लगाउन जाँदा आफ्नो राहदानी र भिसा अनिवार्यरुपमा साथमा लिएर जान समेत दूतावासले अनुरोध गरेका छ । साउदीले फाइजर, अस्ट्राजिनेका, मोडेर्ना र जोन्सन एण्ड जोन्सनको खोप लगाएका व्यक्तिलाई प्रवेश अनुमति दिएको छ ।


प्रकाशित | ७ श्रावण २०७८, बिहीबार ०८:५४