सियाटलमा हुने घुम्ती कन्सुलर सेवा तथा ब्रेन गेन कार्यक्रमको तयारी अन्तिम चरणमा (भिडियो रिपोर्ट)

न्यूर्योक । अमेरिकास्थित वासिङ्गटन स्टेटको सियाटलमा आगामी अगष्ट ७ तारिखमा आयोजना गरिन लागिएको घुम्ती कन्सुलर सेवा शिविरको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली राजदूतावास वाशिङ्गटन डि.सी. र नेपाली महावाणिज्यदूतावास सियाटनको संयुक्त आयोजनामा सियाटलमा हुने घुम्ती कन्सुलर सेवा शिविरको तयारी अन्तिम चरणमा पुगेको हो । शिविर नेपाली राजदूतावास र सेभेन समिट फाउन्डेसनको संयुक्त सहयोगमा हुन लागिको हो ।

नेपाल सरकारका लागि नेपाली महावाणिज्यदूत एसी शेर्पाका अनुसार दुई दिनसम्म चल्ने सो शिविरमा पासपोर्ट नविकरण, नयाँ आवेदन, मंजुरीनामा, एनआरएनए कार्ड, वारेसनामा, भिसा, ट्राभल डकुमेन्ट लगायतको सेवा प्रवाह गरिनेछ ।

अफिसबाट नियमित रुपमा कन्सुलर सेवा प्रदान गरिने भएता पनि केहि थप सेवा सहित विशेष घुम्ती सेवा संचालन गर्न लागिएको महावाणिज्यदूत शेर्पाले बताउनु भयो । कतिपय सेवाहरु वासिङ्गटन डिसीबाट मात्र प्रदान गरिनेमा यो पटक राजदूत डा युवाराज खतिवडा स्वयं उपस्थित रहनुहुने भएकोले सबैजसो सेवा घुम्ती सेवामा प्रदान गरिने उहाँले बताउनु भयो ।

महावाणिज्यदूत शेर्पाले सियाटलमा हुने घुम्ती शिविर कार्यक्रममा सहभागि हुनका लागि नेपाल कन्सुलेट डट ओआरजीमा गएर नाम दर्ता गर्न सकिने पनि बताउनु भयो ।

शिविरबाट विभिन्न कारण पासपोर्ट नविकरण नभएका, भिसा सकिएकाहरुले लाभ लिन सक्ने छन् भने सेवा आवश्यक पर्ने नेपाली तथा विदेशी नागरिकहरुले शिविरमा सम्पर्क राख्न वा दूतावासको वेब साईटमा गएर फर्म भर्न सक्ने जनाइएको छ ।

कोरोनाका कारण ट्राभल गर्नबाट बन्चित भएका र अन्य कारणले रोकिएका सरकारी काम सोही शिविरबाट हजारौ नेपाली तथा अमेरिकी नागरिकहरुले लाभ लिन पाउने छन् । नेपाली दूतावास घुम्ती कन्सुलर सेवाको लागि जुलाई २५, २०२१ सम्ममा दर्ता गरिसक्नुपर्ने दूतावासले जनाएको छ ।

अमेरिकामा यसअघि पनि राजदूत डा. युवराज खतिवडाले कार्यभार सम्हानु भएसँगै डालासमा मे १४ र १५, ह्युस्टनमा १६ र १७ तारिखमा र त्यसअघि सिकागो र क्यालिफोर्नियामा घुम्ति शिविर सम्पन्न भईसकेको छ ।

यसका साथै सोही अवसरमा ब्रेनगेन कार्यक्रम समेत आयोजना गरिने भएको छ । पहिलो पटक आयोजना गर्न लागिएको सो ब्रेनग्रेन कार्यक्रम महावाणिज्यदूत एसी शेर्पाको अवधारणमा हुन लागेको हो ।

नेपालको पर्यटन र व्यापारलाई प्रवद्र्धन गर्नका लागि अमेरिकी व्यवसायी, सामाजिक अगुवा, सरकारी उच्च पदस्थ अधिकारीहरुलाई ब्रेन गेन कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनु भयो । ब्रेन गेन नेपाल कार्यक्रममा मुख्य पाँच मुल मन्त्रलाई आधार मानिएको महावाणिज्यदूत शेर्पाले जानकारी दिनु भयो ।

कार्यक्रममा नेपाली राजदूत डा खतिवडासहित एनआरएनएका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घले, वर्तमान अध्यक्ष कुमार पन्तलगायत ब्यवसायी तथा विभिन्न बौद्धिक ब्यक्तित्वहरुको पनि सहभागिता रहनेछ ।

विदेशमा सिकेको ज्ञान, सिप र प्रविधिलाई नेपालमा हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ब्रेन गेन कार्यक्रम नेपालको आर्थिक सम्मृद्धिमा कोशेढुंगा शावित हुने विश्वास गरिएको छ ।


प्रकाशित | ४ श्रावण २०७८, सोमबार १९:५०