पुनःस्थापित ​प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ । संसद पुनस्थापनापछिको सङ्घीय संसद्को अधिवेशन आइतबारदेखि शूरु हुँदैछ । सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना भएपछि दुवै सदनको अधिवेशन आह्वान भएको हो । अधिवेशनको पहिलो बैठक आइतबार अपराह्न ४ बजे बस्ने छ । बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको संसद् सचिवालयले जनाएको छ ।

सङ्घीय संसद् सचिवालयले आइतबारको सम्भावित कार्यसूचीसमेत तय गरेको छ । प्रतिनिधि सभा विघटनको अवधिमा १६ वटा अध्यादेश जारी भएका छन् । तीमध्ये बजेटसँग सम्बन्धित अध्यादेश पनि छन् ।

अध्यादेशबाहेकका विषय समेटेर सचिवालयले सम्भावित कार्यसूची तय गरेको हो । तयार पारिएको कार्यसूचीमा अधिवेशन आह्वानबारे राष्ट्रपति कार्यालयको पत्र, सरकार गठन र विस्तारबारेको पत्र र केही शोक प्रस्ताव समेटिएका छन् ।


प्रकाशित | ३ श्रावण २०७८, आईतवार ०९:२९