नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार डोज खोप भित्रीयो, २६ लाख बढीले लगाए पहिलो मात्रा

काठमाडौं। नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार डोज कोरोना विरुद्ध खोप भित्रिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोपमध्ये चीन सरकारले १८ लाख डोज भेरोसेल खोप अनुदान दिएको छ। भारतले सरकारलाई १० लाख र नेपाली सेनालाई एक लाख गरी ११ लाख डोज कोभिशिल्ड खोप अनुदान दिएको छ। कोभ्याक्स सुविधाअन्तर्गत थप तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपालले पाएको थियो।

त्यसबाहेक भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटसँग नेपालले खरिद गरेको २० लाख डोजमध्ये १० लाख डोज खोपमात्र दिएको छ। बाँकी १० लाख डोज खोपको अग्रिम भुक्तानी गइसकेको भए पनि भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएको भन्दै सेरम इन्स्टिच्युटले पठाएको छैन।

सरकारले चीनसँग नन् डिस्क्लोजर एग्रीमेन्ट गरेर भेरोसेल खोप खरिद प्रक्रिया अगाडि बढाइसकेको छ। उक्त प्रक्रिया अनुसार खरिदको खोप लिन नेपाल वायुसेवा निगमको जहान आज चीनको बेइजिङ गएको छ। उडान तालिका अनुसार चीनबाट खोप लिएर शुक्रबार बिहान काठमाडौंमा १० लाख डोज खोप आउने छ।

नेपालमा हालसम्म २६ लाख बढीले कोरोना विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन्। २६ लाख ११ हजार ८ सय ७ जनाले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्ड र ७ लाख ८३ हजार ३ सय २३ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्। ४ लाख ६० हजार ७ सय ३४ जनाले कोभिसिल्ड र ४ लाख ७३ हजार १ सय ३४ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३ लाख ७ हजार १ सय ८६ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाउँदा ७० हजार २ सय ६३ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्। प्रदेश २ मा ३ लाख २० हजार ५ सय ३२ जनाले कोभिसिल्ड र ७२ हजार ९ सय ८५ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएको मन्त्रालयको तथ्यांक छ।


प्रकाशित | २४ असार २०७८, बिहीबार २१:५५