एनआरएनए एसिया प्रशान्त क्षेत्रीय सम्मेलन सकियो, विज्ञहरुले जनाए उत्साहजनक सहभागिता

अधिकांश एनसिसी संक्रिय रहेको निस्कर्ष

काठमाडौं : गैर आवासीय नेपाली संघको आठौं एसिया प्रशान्त क्षेत्रीय बैठक तथा प्रथम क्षेत्रीय विज्ञ सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । भर्चुअल रुपमा सम्पन्न संघको क्षेत्रीय बैठक नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले उद्घाटन गर्नुभयो ।

सबैभन्दा सक्रिय एनसिसी रहेको एसियामा यो पटक प्रथम पटक आयोजना गरिएको विज्ञ सम्मेलन पनि फलदायी भएको महसुस गरिएको छ । एनआरएनए एनसिसी जस्तै विज्ञहरुले पनि सम्मेलनमा उत्साहजनक रुपमा सहभागिता जनाउनुभएको थियो ।

पहिलो दिन क्षेत्रीय बैठक आयोजना गरिएको थियो । जसमा महिला सेसन निकै प्रभावकारी रुपमा सञ्चालन भएको थियो । साथै ‘आप्रवासी नेपाली कामदार र स्वदेश फिर्ता, पुन एकिकरण र रोजगार’ का विषयमा सरकारी पक्ष, सम्बन्धित विषयका विज्ञ र गैरआवासीय नेपालीहरु वीच छलफल भएको थियो ।

विभिन्न एनसिसीको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । बैठकमा एसिया प्याशिफिकभित्र रहेका अधिकांश एनसिसीहरुले सक्रिय सहभागिता जनाउँदै आफनो कार्यप्रगति प्रस्तुत गरेका थिए ।

बैठकमा एनसिसीको तर्फबाट चीनका अध्यक्ष प्रदिप न्यौपाने, हङकङ अध्यक्ष राधीका गुरुङ (टिका), मकाउका अध्यक्ष पूर्ण गुरुङ, कोरियाका अध्यक्ष यज्ञराज सुवेदी, जापानका अध्यक्ष देवलाल भण्डारी, थाइल्याण्डका अध्यक्ष आसाजीत अवाले, मलेसियाका अध्यक्ष हरि भट्टराई, भियतनामका अध्यक्ष सुवास अधिकारी, ताईवानका अध्यक्ष विनोद बहादुर देउवा, सिंगापुरका अध्यक्ष विश्वप्रकास गिरी, म्यानमारका अध्यक्ष एसबी क्षेत्रीले कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समग्रमा एसियामा रहेका अधिकांश एनसिसी संक्रिय रहेको निस्कर्ष निकालीएको थियो ।

त्यस्तै, दोस्रो दिन विज्ञ सम्मेलन आयोजना गरिएको थियो । विज्ञ सम्मेलनमा विभिन्न सेसनहरु सञ्चालन भएका थिए । विज्ञ सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल प्रमुख अतिथिको रुपमा सहभागि हुनुभयो।

विज्ञ सम्मेलनका सयोजक.डा.देवीबहादुर बस्नेतका अनुसार सम्मेलनमा ११२ जना विज्ञले कार्यपत्र पेश गर्नुभएको थियो । जसमा कृषिसँग सम्बन्धीत विषय निकै चासोको साथ उठाइएको थियो ।

त्यस्तै, आइतबार दुई दिने कार्यक्रमको निस्कर्ष सार्वजनीक गर्दै कार्यक्रम समापन भएको घोषण गरिएको छ । घोषणसभामा गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक संयोजक रोविन्दप्रसाद श्रेष्ठ (गोविन्द) ले बैठक तथा विज्ञ सम्मेलनको निस्कर्ष निकालीएको ११ बुँदे घोषणपत्र सार्वजनीक गर्नुभएको थियो ।

संयोजक श्रेष्ठले सार्वजनीक गर्नुभएको घोषणपत्रमा विभिन्न मुलुकमा रहेका नेपालीहरुलाई सहज बनाई स्वदेश फर्काउनको लागि हवाई उडान बृद्धि गर्न नेपाल सरकारसंग जोडदार माग गरिएको छ ।

घोषणपत्रमा भनीएको छ, ‘कोभिड १९ महामारीका कारण विश्वभरका नेपालीहरु प्रभावित भएका छन् । एशिया प्रशान्त क्षेत्रका मुलुकहरु तथा खाडि लगायत अन्य मुलुकमा रोजगार गुमाएर अलपत्र परेका, विदेशी भूमीमा रोग र भोकको भयमा रहेका, प्रवेशाज्ञा सकिएर अलपत्र परेका र अन्य विविध कारणले गर्दा विदेश मै रोकिएकाको बिना शर्त वैदेशिक रोजगार कल्याणकारी कोष मार्फत निशुल्क उद्धार यथाशिघ्र गर्नको लागि नेपाल सरकारसँग आग्रह गर्दछ ।’

साथै बैठकले वैदेशिक रोजगारबाट फर्किएका नेपाली कामदारहरुको पुनः एकीकरण र रोजगारका लागि गैरआवासीय नेपाली संघ र नेपाल सरकारवीच स्वदेश मै रोजगार सृजना गर्न सहकार्य गर्ने निर्णय पनि गरेको छ ।

बैठकले परम्परागत बैदेशिक रोजगारीका रुपमा हाल रहेका गन्तब्य मुलुक बाहेक आकर्षक गन्तब्य मुलुकहरु जहाँ पारिश्रमिक राम्रो, कम जोखिम तथा मानब अधिकार तथा सामाजिक सुरक्षाका सुबिधाहरु भएका गन्तब्य देशको पहिचान गरि उक्त देशहरुमा बैदेशिक रोजगार प्रबद्र्धन गर्न नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा बैदेशिक रोजगार बोर्ड समक्ष आग्रह गरेको छ ।

घोषणपत्रमा मुलुकको आर्थिक विकासमा योगदान बढाउने र वैदेशिक रोजगारीमा रहेकाहरुको सामाजिक सुरक्षा कायम गर्नका लागि सामाजिक सुरक्षाकोषको ग्यारेण्टी गर्न नेपाल सरकारसंग आग्रह गरिएको छ ।

त्यस्तैगरि, ‘गैर आवासीय नेपालीहरुको सहकार्यमा श्रमिक सूचना वैंक कार्यान्वयन गराउने र विदेशबाट फर्किएका नेपालीहरुको डाटा राख्ने व्यवस्था प्रभावकारी बनाउन, विदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा भित्र्याई आधुनिक कृषि, शिक्षा, स्वास्थ्य, प्रविधि लगायत क्षेत्रमा उपयोग गरी स्वदेश मै रोजगारीको सृजना गर्न, गैर आवासीय नेपाली संघ महिला फोरमले हालसम्म गरेका कार्यहरुको प्रसंसा गर्दै महिलाहरुको उद्यमशीलता विकास तथा लगानी अभिबृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरमको सकृयतामा शुरु भएको शीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिलाहरुको सहभागिता सुनिश्चित गराउन’ भनीएको छ ।

‘एसिया प्रशान्त क्षेत्रमा बसोवास गर्ने युवा जमात तथा दोस्रो पुस्तालाई संघको मुलधारमा समाहित गर्दै देशको विकासमा हातेमालो गर्न सरोकार व्यक्ति तथा निकायहरुलाई अनुरोध गर्ने निर्णय गर्दछ’, घोषणपत्रमा भनीएको छ, ‘विदेशका बालबालिकाहरुलाई नेपाली भाषा, लिपी, संस्कार र संस्कृति सिकाउने कार्य गर्न यो बैठक अपील गर्दछ ।’

त्यस्तै, स्वदेशमा कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको लागि सर्वप्रथम सहयोग तथा तदारुकताका लागि एशिया प्रशान्त क्षेत्रलाई गैर आवासीय नेपाली संघले उच्च मुल्यांकन गर्दै भविष्यमा पनि यसै प्रकारको सहयोगको अपेक्षा पनि गरेको छ ।

अन्तमा भनीएको छ, ‘यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषदहरु्, प्रायोजकहरु, आयोजक समितिका सदस्यहरु, स्वयंम्सेवीहरु, संचारकर्मीहरु लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’

कार्यक्रमको उद्घाटन सत्रमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीका साथै विशिष्ट अतिथीका रुपमा म्यानमारका लागि नेपाली राजदूत भीम उदास, गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष देवमान हिराचन, गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घले, गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलगायत आइसिसी पदाधिकारी, आइसिसी सदस्य, एनसिसी अध्यक्षहरुलगायत सहभागि हुनुहुन्थ्यो ।

त्यस्तै, कार्यक्रमको समापन समारोहमा म्यानमारका लागि नेपाली राजदूत भीम उदास, गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, निवर्तमान अध्यक्ष भवन भट्ट, अध्यक्ष कुमार पन्तलगायत विशिष्ट अतिथिको रुपमा सहभागि हुनुहुन्थ्यो ।

एसिया प्यासिफिक उप-संयोजक खगेन्द्र न्यौपानेले सञ्चालन गर्नुभएको कार्यक्रममा एसिया प्याशिफिक महिला संयोजक अमृता थापा, युवा संयोजक दिपक कडेलगायत एनसिसी अध्यक्षहरु सहभागि हुनुहुन्थ्यो । एसिया संयोजक रोविन्द श्रेष्ठ (गोविन्द ) को सभापतित्वमा सम्पन्न कार्यक्रममा विज्ञ सम्मेलन संयोजक डा देवी बहादुर बस्नेतले समग्र विज्ञ सम्मेलनको निस्कर्ष बारेमा जानकारी गराउनुभएको थियो ।


प्रकाशित | ११ आश्विन २०७७, आईतवार २२:१५