संसद विघटनसम्बन्धी मुद्दामा बहस सकियो,अर्को पेशी असार २८ गते

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सकिएको छ । मुद्दाको अर्को पेसी असार २८ गतेका लागि तोकिएको छ । रिट निवेदक र विपक्षीको बहस र एमिकस क्युरीको राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा हेर्दाहेर्दैमा राखेर असार २८ गतेका लागि पेशी तोक्नुभएको हो । मुद्दाको फैसला सोही दिन आउने भएको छ ।

आज रिट निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेपछि एमिकस क्युरीका रुपमा चयन भएका वरिष्ठ अधिवक्ताहरु राघवलाल वैद्य, उषा मल्ल पाठक, कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीले राय दिनुभएको छ । यसअघि आज निवेदकका तर्फबाट कानून व्यवसायीहरु रमणकुमार श्रेष्ठ, हरिहर दाहाल, बद्रीबहादुर कार्की, शम्भु थापा र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गर्नुभएको थियो ।

१ सय ४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गर्दै संसद विघटन बदर गर्न र बहुमत सांसदको समर्थन रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सपथका लागि परमादेश जारी गर्न माग गरेका छन् । उक्त रिटमाथि प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भएको थियो ।


प्रकाशित | २१ असार २०७८, सोमबार २०:४५