कोभिड -१९ (कविता )

अमित चाम्लिङ- हाल कुवेत

चढ्दाचढ्दै जीवनकाे उकालाे
थाकेछाै साँच्चै साथी !
हुरीमा सिमल फूल झैँ टाढा-टाढा उडिगयाै ।

रहरलाग्दा रहरहरु बिसाउनु पर्ने
कारण के थियाे र यतिबेलै ?
सङ्घर्षकाे सम्झाैता पत्रमा हस्ताक्षर गरेर
दुःखका रेगिस्तान नाघ्दै नै थियाै।

खुसीकाे जहाज चड्नेबेला
घरकाे बलेसीमा उभिएर
कति निर्मम भएका थियाै !
आमाकाे वृद्ध आँखाले छेक्न सकेन बाटो
एक टक हेरिरहेकी
प्यारी छोरीकाे अनुहार कुल्चेर हिँडेका थियाै
अर्धाङ्गिनीसँग एक थुङ्गा फूल साटेर
उँधाैउँधाे गल्छीकाे बाटो !

हररात सपना नबिग्रेको किन नहोस्-

घरकाे बलेसीमा पहिराे जान्थ्याे
साहुको ऋणमा झनै कठाङ्ग्रिँन्थ्याे हिउँद
पिरलाे बर्खे भेल तीनचुल्हामा पस्थ्याे
गुहार भन्थ्याे छोरीकाे अकिञ्चन अनुहार
आर्धाङ्गिनीकाे फाटेको कुर्थासलवार
बाढीलाई गाँठाे पारूँ भन्थ्याे,
ममतापूर्ण वृद्धआमाकाे चेहरा
बाढीजस्तै धमिलाे देखिन्थ्याे ।

सपना जे देखे नि तिमीसँग बेग्लै र सुन्दर सपना थियाे
एक सुटकेस माया र सम्झना बोकेर
मरुभुमिमा अरफाज फूल जस्ताे फूलेकै थियाै ।

तर,बलेसीमा छोडिएकी आमा
अर्फाज फूल जस्तै छोरी
थुङ्गे फूलमै साटिएको माया उनेर माला
गलामा नलाउँदै
छोरीको तस्वीर र साहुको तमसुक राखेर सिरानीमुनि
धत् ! आत्महन्ताकाे टिकट काटेर
यमराजकाे जहाजमा उडिगएछाै ।

तिम्राे टिकटको अर्धकट्टि CoVID-19,2020 च्यातेर
तिमीलाईअर्फाज फूल चढाइरहेछु म
सेल्फ-क्वारेटाइनबाट !


प्रकाशित | ६ श्रावण २०७७, मंगलवार १६:०६