एनआरएनएमा सदस्य संख्याले तोड्यो रेकर्ड, प्रमाणीकरणको संख्या १ लाख नाघ्यो, थपिने क्रम जारी

काठमाडौं। गैर आवासीय नेपाली संघका सबैजसो राष्ट्रिय समन्वय परिषद्हरुमा यो पटक पञ्जीकृत सदस्य संख्यामा बढोत्तरी आएको छ । एनआरएनएका ८० भन्दा बढी देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुमा सदस्य संख्यामा बढोत्तरी आएको हो ।

संघका महासचिव डा. हेमराज शर्माका अनुसार हालसम्म विश्वभर पञ्जीकृत सदस्य बन्नेको संख्या १ लाख नाँघिसकेको छ । एनसिसीहरुमा सदस्य बन्ने क्रम अझै जारी छ भने कतिपयमा प्रमाणीकरणको काम भइरहेको छ । पछिल्लो अपडेट अनुसार प्रमाणीकरण भएकाको मात्र १ लाख नाघेको महासचिव शर्माले बताउनु भयो ।

उता निर्वाचनमा केन्द्रित भइरहेका एनसिसीहरुले सदस्य बन्ने समयसीमा अन्तिम चरणमा पुगेको जनाएका छन् । यो पटक सदस्य संख्याको आधारमा अमेरिका सबैभन्दा ठूलो एनसिसी बन्न सफल भएको छ भने दोस्रोमा अष्ट्रेलिया बन्ने देखिएको छ । यद्यपी अष्ट्रेलियामा अझै सदस्यहरुको प्रमाणीकरण गर्ने कार्य सम्पन्न भइसकेको छैन ।

अघिल्लो कार्यकालमा सबैभन्दा धेरै सदस्य रहेको बेलायत भने यो पटक तेस्रो बनेको छ । यो पटक अमेरिकामा सबैभन्दा बढी २१ हजार १३९ सदस्य बनेका छन् । अष्टेलियामा १६ हजार १७८ जनाले आवेदन दिएका छन् । यद्यपी प्रमाणीकरण हुने क्रम जारी छ ।

विश्व सन्देशलाई उपलब्ध पछिल्लो तथ्यांक अनुसार बेलायतमा ११ हजार ६ सय, कतारमा १० हजार ३५, जापानमा ९ हजार २७३, क्यानडामा ४ हजार १५३, साउदी अरवमा २ हजार ६१९, कुवेतमा २ हजार ८६, बहराइनमा १ हजार ९०५,  यूएईमा हालसम्म १ हजार २ सय, कोरियामा १ हजार १७१, जर्मनी १ हजार ६, हङकङमा ९८०,  चेक रिपब्लीकमा ४४८, नेदरल्याण्ड्समा ५०६, फ्रान्समा ४९४,स्वीडेनमा २३७, स्वीटजरल्याण्डमा १२३ जनाको सदस्यता प्रमाणीकरण भइसकेको छ । यद्यपी एनसिसीहरु सदस्यता प्रमाणीकरण गर्ने कार्यलाई तीब्रता दिदै अन्तिम नामावली तयार पार्न ब्यस्त छन् ।

त्यस्तै, युगान्डामा ११४ जनाको आवेदन परेकोमा ६२ जनाको प्रमाणीकरण भइसकेको छ । यद्यपी प्रमाणीकरण हुने क्रम जारी रहेको छ । मकाउमा ७३२ जनाको आवेदन परेकोमा ५२५ जनाको प्रमाणीकरण भइसकेको छ भने अन्यको प्रमाणीकरण हुन बाँकि छ । त्यस्तैगरि डेनमार्कमा अहिलेसम्म ४४० जनाको प्रमाणीकरण भइसकेको छ भने अन्यको प्रमाणीकरण जारी छ ।

विश्वभर रहेका एनसिसीहरुको निर्वाचन जुलाई महिनाभित्र सम्पन्न हुँदैछ । यो पटक अनलाइनको माध्यमबाट निर्वाचन गर्न लागिरहेको एनआरएनएले निर्वाचन कमिटि समेत गठन गरिसकेको छ भने केन्द्रीय प्रतिनिधि छनौट प्रक्रियालाई पनि अगाडि बढाइरहेको छ ।


प्रकाशित | १८ असार २०७८, शुक्रबार २१:४०