बेलायतमा ग्रयाजुएसनपछि वर्क परमिट पाउने नियम लागू, नेपाली विद्यार्थी पनि लाभान्वित हुने

लन्डन । बेलायत सरकारले ग्रयाजुएट इमिग्रेसन रुट औपचारिक रुपमा लागू गरेको छ । क्षमतावान अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरि ल्याएको ग्रयाजुएट इमिग्रेसन रुट १ जुलाईदेखि औपचारिक रुपमा लागू गरिएको हो ।

ग्रयाजुएट इमिग्रेसन रुटमार्फत अब बेलायती विश्वविद्यालयबाट डिग्री गर्ने विद्यार्थीले दुई वर्ष र पिएचडी वा डक्टोरल गर्ने विद्यार्थीले तीन वर्षको वर्क परमिट (पिएसडब्लु) पाउने छन् । बेलायतको नयाँ नियमबाट नेपाली विद्यार्थी समेत लाभान्वित हुनेछन् ।

बेलायतले गत अप्रिल २०१२ मा पिएसडब्लु रुट खारेज गरिदिएको थियो । ब्रेक्जिटसंगै बेलायतले गत १ जनवरीदेखि आफ्नो अध्यागमन नियममा परिवर्तन गर्दै अंकमा आधारित बनाएको छ । क्षमतावान उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पढाइपछि बेलायतमै ‘करिअर’ बनाउन अवसर दिने नीति सरकारको छ ।


प्रकाशित | १८ असार २०७८, शुक्रबार १०:५५