‘सबै कामहरू अधुरै छाडेर विवादमा अल्झिन हामीलाई छुट छ र ?’

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अहिलेसम्मको उपलब्धीलाई बचाउन पार्टी एकढिक्का हुन आवश्यक रहेको विचार ब्यक्त गर्नुभएको छ । नेताहरूको अगुवाईमै आजको उपलब्धी प्राप्त भएकाले त्यसलाई बचाउनुपर्ने उहाँको भनाइ छ ।

सबै कामहरू अधुरै छाडेर समाजवादको यात्रा भर्खर सुरु भएकाले अझै पार्टीमा कुनै विचलन आउन नहुने भन्दै उहाँले थप्नुभएको छ, “समाजवादतिरको यात्रा त भर्खर सुरु मात्रै भएको छ । नेताहरू भन्नुस् त– यी सबै कामहरू अधुरै छाडेर, विवादमा अल्झिन हामीलाई छुट छ र ? ” कुनै पनि निर्णय गर्नुपूर्व, एकचोटी झ्यालको पर्दा खोलेर बाहिर सडकमा दुःखको भारी बोकेर हिँडिरहेका नागरिकहरूलाई हेर्न उहाँले नेतृत्वलाई आग्रह गर्नुभएको छ ।

पार्टीको सचिवालय बैठकअघि उहाँले नेताहरूलाई सामाजिक सञ्जालमा सामूहिक आग्रह गर्दै भन्नुभएको छ, “असमझदारीहरूको व्यवस्थापन गर्न नसकेर एकीकृत पार्टी विभाजनको दिशातिर गयो भने, राज्यको नेतृत्व गर्ने यो दुर्लभ अवसर हाम्रो हातबाट गुम्न पुग्यो भने हामीले इतिहासको कठघरामा उभिएर निकै निर्मम प्रश्नहरूको सामना गर्न र निर्मम फैसला स्वीकार गर्न बाध्य हुनुपर्नेछ ।”


प्रकाशित | ३ श्रावण २०७७, शनिबार १३:४३