युरोकपमा आज दुई खेल

एजेन्सी । युरोपको विभिन्न शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) दुई खेलहरु हुँदैछन् । युरोकपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत सोमबार राति दुई खेलहरु हुन लागेको हो ।

पहिलो खेलमा स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा फ्रान्सले स्विट्जरल्यान्डको सामना गर्नेछ । डेनमार्कको पार्केन एरिनामा हुने स्पेन र क्रोएसियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछन् ।

स्पेनले समूह ‘ई’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । स्पेनले ३ खेलमा ५ अंक जोडेको थियो । समूह चरणको पहिलो खेलमा स्पेन स्विडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो । समूह चरणको अन्तिम खेलमा स्पेनले स्लोभाकियालाई ५-० गोल अन्तरले पराजित गरेको थियो ।

क्रोएसियाले समूह ‘डी’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो । पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १-१ गोलको बराबरी खेलेको थियो । समूह चरणको अन्तिम खेलमा क्रोएसियाले स्कटल्याण्डमाथि ३-१ गोलको जित निकालेको थियो ।

क्रोएसिया र स्पेनबीच मुख्य प्रतियोगितामा तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघिको दुई भेटमा दुबै टोलीले एक एक खेल जितेका छन् । नेसन्स लिग अन्तर्गत सन् २०१८ को सेप्टेम्बर स्पेनले क्रोएसियालाई ६-० ले हराएको थियो । २०१८ को नोभेम्बरमा भएको खेलमा भने क्रोएसियाले स्पेनलाई ३-२ ले हराएको थियो ।

रोमानियाको नेसनल एरिनामा हुने फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ ।  साविक उपविजेता समेत रहेको फ्रान्स समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह चरणमा फ्रान्सले ३ खेलमा ५ अंक जोडेको थियो ।

समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो । तर, दोस्रो खेलमा फ्रान्स हंगेरीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । यस्तै अन्तिम खेलमा पनि फ्रान्स पोर्चुगलसँग २-२ गोलको बराबरीमा रोकिएको थियो ।

स्विट्जरल्यान्डले समूह ‘ए’ बाट नकआउट चरणमा स्थान बनाएको हो । समूहको उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा प्रवेश गरेको स्विट्जरल्यान्डले ३ खेलमा ४ अंक जोएको थियो ।

समूह चरणको पहिलो खेलमा वेल्ससँग १-१ गोलको बराबरी खेलेको स्विट्जरल्यान्ड दोस्रो खेलमा इटालीसँग ३-० ले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३-१ गोल अन्तरले हराएको थियो ।

फ्रान्स र स्विट्जरल्यान्डबीच पछिल्लो ७ खेलको नतिजा हेर्दा फ्रान्स बलियो देखिएको छ । फ्रान्सले ३ खेल जित्दा ४ खेलमा बराबरी खेलेको छ । दुई टिमबीच मुख्य प्रतियोगितामा पाँचौं पटक खेल्न लागेका हुन् ।


प्रकाशित | १४ असार २०७८, सोमबार १५:०२