काठमाडौं उपत्यकामा जोर–बिजोरका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । उत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी गरिएको निषेधाज्ञा केही खुकुलो बनाउँदै असार २१ गतेसम्मका लागि लम्बाइएको हो ।

बैठकले सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने दिने निर्णय गरेको छ । काठमाडौं उपत्यकाभित्र मात्र संचालन हुने गरी २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक बस सञ्चालन गर्न दिने निर्णय भएको हो ।

सार्वजनिक यात्रु बाहक सवारी साधन संचालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सीट क्षमता भन्दा बढी संख्यामा यात्रु राख्न नपाउने व्यवस्था गरिएको छ ।

चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने मापदण्ड तोकिएको छ । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र संचालन गर्न स्वीकृति दिइएको छ ।

त्यस्तै, बैठकले उपभोग्य सामग्री र पाठ्यपुस्तकको पुसल साँझ ६ बजेसम्म खुल्ने र भाँडापसल, फेन्सी, हार्डवेयरजस्ता पसल ११ बजेदेखि ६ बजेसम्म सञ्चालन दिने निर्णय गरेको छ भने खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री पसल, खेलकुद सामग्री पसल र स्टेशनरी पसल साँझ ६ बजेसम्म खुलाइएको छ । अत्यावश्यक वस्तुको अनलाइन अर्डर, टेक अवे र होम डेलिभरी साँझ ७ बजेसम्म गर्न पाइनेछ । सवारी साधन मर्मतका लागि वर्कसप साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।

त्यस्तै डिपार्टमेन्टर स्टोर, सपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय सामग्री अटोमोवाइल पार्टस् पसल भने विहान ११ देखि ६ बजेसम्म सञ्चालन हुनेछन् । त्यस्तै इलेक्ट्रोनिक्स, निर्माणजन्य सामग्रीको पसल पनि सञ्चालन हुन पाउनेछ ।

त्यस्तै सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङपुल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखानाहरु भने सञ्चालन गर्न नपाइने भएको छ।  खुला स्थानमा भेला हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोजभतेर गर्न पनि प्रतिबन्ध नै छ । विद्यालय, क्याम्पसमा भौतिक उपस्थिति पठन पाठन तथा परीक्षा सञ्चालन गर्न पनि नपाइने भएको छ ।


प्रकाशित | १४ असार २०७८, सोमबार १३:४१