एनआरएनएलाई विभाजनबाट जोगाउन संस्था भित्रै समाधान खोज्नुपर्छ : रामप्रताप थापा

काठमाडौं –  गैर आवासीय नेपाली संघका संस्थापक तथा संरक्षक रामप्रताप थापाले संस्था अत्यन्तै कठिन अवस्थामा गुज्रिएकोमा चिन्ता ब्यक्त गर्दै विभाजन हुनबाट जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनु भएको छ । विश्व सन्देशसँग कुराकानी गर्नुहुँदै संरक्षक थापाले संस्थाभित्रै समाधान खोजेर संस्थालाई विभाजन हुनबाट जोगाउनुपर्नेमा जोड दिनु भएको हो ।

परराष्ट्र मन्त्रालयले संस्थाको अहिलेको विवाद सुल्झाउन अग्रज तथा संरक्षकहरुलाई दिनुलाई गलत अर्थमा लिनु नहुने भन्दै थापाले भन्नुभयो, ‘संरक्षक परिषद्लाई दिनुको अर्थ अग्रज भएकाले सबैलाई समेटेर सिंगो रुपमा मिलाएर जान सक्छ भन्ने हो, त्यसैले संरक्षक परिषद्का प्रमुखले सबैलाई समेटेर निस्पक्ष भएर अगाडि बढ्न आवश्यक छ ।’

संरक्षकहरुले संस्थाभित्रको अहिलेको मुख्य समस्या के हो भनेर पहिचान गर्नुपर्ने र एनआरएनलाई बचाउने अभियानमा लाग्नुपर्ने बताउनु भयो । परराष्ट्रले संरक्षक परिषद्लाई दिनुको पछाडिको लुकेको सन्देश सबैलाई समेटेर लग्छन् भन्ने नै भएकाले सोही अनुसार संस्थालाई बचाउन लागिपर्न आग्रह गर्नु भयो ।

संस्था विभाजन नहोस र संस्था अगाडि बढोस भनेर त्यो अधिकार संरक्षक परिषद्लाई दिएकाले संरक्षक तथा संस्थापक सदस्यहरुको अहिलेको जिम्मेवारी संस्था विभाजन नहुने गरि सबैलाई मिलाएर अगाडि बढ्नु हुने बताउनु भयो ।

उहाँले संरक्षकलाई दिएको अन्तिम मौका गुमाउन नहुनेमा पनि जोड दिनु भयो । ‘यो हामी आफैले खडा गरेको संस्था हो। कहिले परराष्ट्र जाने, कहिले मुद्दा गर्ने कुरा ठिक हुँदैन् । प्रमुख उम्मेदवारहरुलाई एक ठाउँमा राखेर सहमतिको विन्दू पहिल्याऊ’, उहाँले भन्नु भयो ।


प्रकाशित | ९ मंसिर २०७८, बिहीबार २१:५६